गाजापट्टीमा १ लाख २३ हजारभन्दा धेरै मानिस विस्थापित


काठमाण्डौँ असोज २३
इजरायल र हमासबीच द्वन्द्व शुरु भएयता गाजापट्टीमा एक लाख २३ हजारभन्दा धेरै मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

मुख्यगरी गाजामा डर, सुरक्षा चिन्ता र घर भत्केका कारण एक लाख २३ हजारभन्दा धेरै बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका संयुक्त राष्ट्रसङ्घको मानवीय निकायले उल्लेख गरेको छ । ७३ हजारभन्दा धेरैले विद्यालयमा आश्रय लिइरहेका छन् ।

हमास लडाकु समूहले शनिवारदेखि इजरायलमा आक्रमण गर्नुका साथै हजारौँ रकेट प्रहार गरेको छ । हमास समूहविरुद्ध ‘ठूलो शक्ति’ प्रयोग गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी समेत दिएका बीबीसीले उल्लेख गरेको छ । तर प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले प्यालेस्टाइनीहरूविरुद्ध इजरायलको आक्रमण तत्काल रोक्न संयुक्त राष्ट्र सङ्घलाई आह्वान गर्नुभएको छ ।

अब्बासले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग टेलिफोन गरी थप आक्रमण रोक्ने पहल गर्न अनुरोध गर्नुभएको हो । दुवैतर्फ गरी अहिलेसम्म १२ सय जनाभन्दा धेरैको ज्यान गएको छ । इजरायलतर्फ सात सयभन्दा धेरै र प्यालेस्टाइनतर्फ पाँच सयभन्दा धेरैको ज्यान गएको बीबीसीले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर