चितवन राष्ट्रिय निकुञ्जमा १० महिनामा २१ गैँडा मृत

कोहलपुर बाँके वैशाख २८- दुर्लभ एकसिङ्गे गैँडाका लागि उपयुक्त बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जमा हाल छ सय ९४ गैँडा छन्

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन् । चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य १९ वटा कालगतिले मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका गैँडामध्ये सातवटा भाले, सातवटा पोथी र पहिचान नभएका सातवटा रहेका छन् । गैँडा दलदलमा फसेर, आपसमा जुधेर, बुढो भएर, बाघको आक्रमणबाट, चोरी सिकारी गर्नेबाट, मानवीय गतिविधि, र करेन्ट लागेर मर्ने गरेका छन् ।

संख्या बढेपछि बासस्थानका कारण गैँडा मर्ने क्रम बढेको उनले बताए । उनले भने, ‘घाँसेमैदान र सिमसार क्षेत्रको व्यवस्थापन गर्नसके गैँडा संरक्षणमा सहयोग पुग्छ ।’ यसका लागि निकुञ्जले नयाँ सिमसार क्षेत्रको व्यवस्थापन, पुरानाको मर्मत र घाँसेमैदान व्यवस्थापन गरिरहेको उनले बताए ।

गत आर्थिक वर्षमा १३ वटा भाले, सातवटा पोथी र एउटा पहिचान हुनसकेको गैँडा मरेका थिए । हाल निकुञ्जमा छ सय ९४ गैँडा छन् । दुर्लभ एकसिङ्गे गैँडाका लागि उपयुक्त बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको संख्या धेरै भएपछि निकुञ्जले केही गैँडालाई आन्तरिक स्थानान्तरण गरेर पूर्वी क्षेत्रमा लगेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर