माघीको तयारीमा थारु समुदाय

तुलसीपुर, २८ पुस ।

थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् । पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा घरआँगन सरसफाईलगायतका कार्यहरू धमाधम भइरहेको छ माघीमा विशेष गरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गटोलगायतका खानाका पकवानहरू खाने चलन रहिआएको छ । त्यसैले पनि थारु समुदायहरु अहिले त्यसको खोजीमा जुटेका छन् ।

विशेषरी समुदायमा पुरुषहरू माघीका लागि मासुको जोहो गर्न व्यस्त छन भने महिलाहरूलाई घर लिपपोत गर्न, दुना टपरी बनाउनका साथै जाँड, ढिक्री, रोटीलगायत तयार गर्न भ्याइनभ्याइ छ । यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकोले आफ्ना परिवारका लागि नयाँ–नयाँ लुगाकपडा किन्न स्थानीयवासी गाउँबाट टाढाटाढाका शहरबजार जान थालेका छन् । रोजगारीका लागि बाहिरिएकाहरू पर्व मनाउनका लागि घर फर्कन थालेका छन् ।

माघीमा पाहुना धेरै जम्मा हुने भएकाले उनीहरूको स्वागतका लागि थरीथरीका स्थानीय खानाका पकवान पकाउन स्थानयवासी व्यस्त देखिन्छन् । पुस अन्तिम दिनबाट शुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गर्दै माघ १ अर्थात नयाँ वर्षलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारू अगुवा बताउँछन् ।

थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको गाउँका अगुवा चेतराम चौधरीले बताए । माघे सङ्क्रान्तिका दिन विशेषगरी थारु समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गरी आफूभन्दा ठूलाबाट आशिर्वाद लिने गरिन्छ । आशिर्वाद लिइसकेपछि घरमा अलग्गै छुट्याएर राखिएको चामल, नुन, तेल र बेसारलगायतका खाद्यान्न छुने र छुट्याइएका ती चिजहरू घरका छोरीबेटीलाई दिने परम्परा रहिआएको छ ।

पश्चिम नेपालको तराईका थारु समुदायको सबैभन्दा ठूलो पर्वका रूपमा मनाइने यो पर्वमा विशेषगरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गटोलगायतका स्थानीय खानाका पकवान खाने चलन छ । त्यस्तै माघी मनाउन हरेक वर्ष गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गर्ने गरेको भए पनि यस वर्ष भने कोरोनाको सङक्रमणका कारण खासै मेला महोत्सवको तयारी खासै गरिएको देखिँदैन ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर