कक्षा १२ को नतिजा चाँडै प्रकाशित हुदै
काठमाडौँ, २० पुस ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको नतिजा सकेसम्म चाँडै प्रकाशन गर्ने जनाएको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य सकिएको र इन्ट्री कार्य जारी रहेको छ ।
गत मंसिर ९ देखि १६ गते सम्पन्न परीक्षामा ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थी सहभागी छन् । कोरोना भाइरस प्रभावित विद्यार्थीका निम्ति यही पुस १६ गतेबाट २३ गतेसम्म लिइँदैछ । परीक्षार्थी संख्या थोरै रहेको जनाइएको छ । ती परीक्षार्थीको नतिजासमेत एकसाथ प्रकाशन हुनेछ ।
कोभिड–१९ ले गर्दा विद्यार्थीको कूल सय पूर्णाङ्कमा ४० प्रतिशत अंक भारको परीक्षा लिइएको हो । सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकन २० प्रतिशत र कक्षा ११ को विषयगत प्राप्तांक ४० प्रतिशत रहेको छ ।