अनलाईन पठन पाठन : ६४ प्रतिशत विद्यार्थीको सिकाइ प्रभावहीन
दाङ, १४ मंसिर ।
कोभिड–१९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको सिकाइ प्रभावहीन भएको एक अध्ययनले देखाएको छ । उनीहरु घरमै सिकाइ क्रियाकलापमा संलग्न भए पनि विद्यालय, शिक्षक तथा सूचना प्रविधिको सहयोगको अभावमा उनीहरुले अर्थपूर्ण सिकाइ हासिल गर्न नसकेको पाइएको हो । सिकाइ प्रभावकारी नहुँदा यसको शिक्षामा दीर्घकालीन असर पर्न सक्ने विज्ञहरुको भनाइ छ ।
शैक्षिक नागरिक क्षेत्रको साझा सञ्जाल ‘शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ० नेपाल) ले ‘नेपालका सार्वजनिक विद्यालयमा कोभिड–१९ को असर’ विषयक विभिन्न प्रदेशका सात जिल्लाका स्थानीय तहमा गरेकोे अध्ययनले शिक्षकलाई वैकल्पिक माध्यमको सिकाइबारे तालीम अपर्याप्त नभएको पनि जनाएको छ ।
सरकारले महामारीको स्थितिमा पनि शैक्षिक सत्रलाई खेर जान नदिन सूचना तथा सञ्चार प्रविधिको सहायतामा सञ्चालन हुने गरी वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरेको थियो भने हाल स्वास्थ्य जोखिमको अवस्था मूल्याङ्कन गरी स्थानीय तहले विद्यालय खोल्न सक्ने गरी विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ जारी गरेको छ ।
एनसिइ नेपालका लागि शिक्षाकर्मी डा सुरेश गौतम, डा इन्द्रमणि राई, सनम मास्के, राजेन्द्र पहाडी, जनक पन्तसहितको टोलीले गरेको सो अध्ययनले चितवनबाहेक अन्य जिल्लाका २५ प्रतिशत विद्यालयबाट मात्रै वैकल्पिक सिकाइका लागि विद्यार्थीले सहयोग पाएको देखाएको छ ।
विभिन्न जिल्लामा ५० देखि ७५ प्रतिशत बालबालिका अभिभावक र मार्गदर्शनमा घरमै स्वाध्यायन क्रियापलापमा संलग्न भएका छन्,भने ६० देखि ९१ प्रतिशतसम्म बालबालिकामा वैकल्पिक माध्यमका रेडियो, टेलिभिजन, मोबाइल र कम्पयुटर इन्टरनेट जस्ता साधनमा पहुँचको अभाव भएको पाइएको छ ।
शिक्षाविद् डा विद्यानाथ कोइरालाले नीति, योजना र कागजी निर्णयमा सरकार र सम्बन्धित निकाय सक्रिय रहे पनि विद्यार्थीको सिकाइ सुनिश्चितताका लागि आफ्नोतर्फबाट पहल गर्न शिक्षकहरु चुक्न नहुने बताए । उनले गैरसरकारी क्षेत्रबाट पनि ध्यानाकर्षण गराउने र आवाज उठाउने बाहेक सिकाइ सामग्री तथा स्रोत साधनका लागि सहयोगमा सन्तोषजनक काम नभएको टिप्पणी गरे ।