कोरोना भाइरसका कारण शिक्षामा अपुरणीय क्षति पुग्न सक्छ’
दाङ, २७ भदौ ।
विभिन्न क्षेत्रका विज्ञहरुले कोरोना भाइरस (कोभिड–१९) का कारण शिक्षा क्षेत्रमा अपुरणीय क्षति हुन सक्ने खतरा औंल्याएका छन् । लामो समय विद्यालय बन्द हुँदा बालबालिकाले विद्यालयबाट अहिलेसम्म हासिल गरेका सिकाई उपलव्धि गुम्न सक्ने र बीचमै पढाई छाड्ने दर बढ्ने खतरा रहेको उनको भनाई थियो ।
रोटरी क्लव अफ बुटवलको आयोजना र रिजन–५ अन्तर्गतका रोटरी र रोट्रयाक्ट क्लवहरुको सह(आयोजनामा भएको शिक्षा क्षेत्रमा कोभिड–१९ को प्रभाव र अवको अभ्यासु विषयक भर्चुअल अन्तर्कृयामा सहभागी विज्ञहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटानका डिष्ट्रिक गभर्नर राजीव पोखरेलले कोभिड–१९ को महामारीले शिक्षा क्षेत्रमा अन्यौलतासँगै चुनौती थपिएको बताए । लामो समय विद्यालय जान नपाउँदा बालबालिकामा मनोवैज्ञानिक असर परेको, पढ्ने बानी छुटेपछि बीचमै पढाई छाड्ने दर बढ्ने खतरा रहेको उनको भनाइ थियो । शहरी क्षेत्रमा भर्चुअल माध्यमबाट शिक्षण सिकाई सहज मानिए पनि ग्रामीण क्षेत्रमा यो निकै कठिन रहेको र अधिकांश विद्यार्थी प्रविधिको पहुँचबाट समेत बाहिर रहेको उल्लेख गर्दै उनले संकटको बेलामा शिक्षा क्षेत्रमा जागरुकता ल्याउन रोटरीयनहरुको भूमिका बढेको बताए ।
शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिपक शर्माले सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई जोड दिंदै आगामी असोज १ गतेदेखि लागू हुने गरी सिकाई सहजीकरण निर्देशिका ल्याएको जानकारी दिए ।
विज्ञहरुको सुझावका आधारमा ३० प्रतिशत पाठ्यक्रम घटाएर भएपनि शैक्षिक सत्र खेर जान नदिइने उनको भनाइ थियो । प्रवक्ता शर्माले प्रविधिको पहुँच नपुगेका विद्यार्थीलाई पनि पठनपाठनमा सहभागी गराउने तरिका र विकल्पबारे मन्त्रालयले गृहकार्य गरिरहेको बताउँदै विश्वविद्यालयहरु भने वैकल्पिक सिकाईमा अझ अगाडि बढ्नुपर्नेमा जोड दिए ।
निजी तथा आवासीय विद्यालयहरुको संगठन (प्याब्सन) का वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा संसारकर्मी राजेन्द्र बानियाँले विद्यालय बन्द हुँदा बालबालिकाले बीचमै पढाई छाड्न सक्ने खतरा सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको बताए । सिकाई निर्देशिका ल्याउन मन्त्रालयले छ महिना लगाएको भन्दै उनले शिक्षामा निजी क्षेत्रको योगदानलाई पनि नबिर्सन सरकारको ध्यानाकर्षण गराए ।
हिले देशभरका दुई हजार भन्दा बढी निजी विद्यालय बन्द रहेको र त्यहाँ कार्यरत मध्ये ४० हजार शिक्षक कर्मचारीले रोजगारी गुमाउन सक्ने संभावना रहेको भन्दै उहाँले २० प्रतिशत विद्यार्थीले निजी स्कुल छोड्न सक्ने संभावना पनि औंल्याए । बालबालिकाका लागि हालको शिक्षण सिकाई प्रणाली गलत रहेकाले अव भने कोभिड–१९ को प्रभावसँगै सिकाई प्रणालीलाई पनि परिवर्तन गर्नुपर्ने बेला आएको बानियाँले बताए । उनले विद्यार्थी भर्ना र वार्षिक शुल्क उठाउने कुरालाई खुला गर्न पनि माग गरे ।