पूर्वसभामुख महराद्वारा थारु संग्रहालयको अवलोकन
तुलसीपुर, २६ भदौ ।
पूर्वसभामुख कृष्णबहादुर महराले दाङ दंगीशरण गाउँपालिका वडा नं. ३ चखौरा स्थित थारु संग्रहालयको अवलोकन गरेका छन् । थारुको पहिचान, संस्कृति झल्किने उद्देश्यले निर्माण गरिएको उक्त संग्रहालयको महराले शुक्रबार अवलोकन गरेका हुन् ।
संग्रहालयमा थारु समुदायको ईतिहास, उत्पति, भेषभुषा, कला संस्कृति, रहनसहन, खानपान,चाडपर्व, दंगीशरण राजाको सालिकलगायत राखिएको छ । यसले थारु समुदायको पहिचानलाई जोगाई राख्न मद्दत गर्ने पूर्वसभामुख महराले बताए । संग्रहालय निर्माण गरि सञ्चालन गर्नुले पर्यटनको क्षेत्रको समेत विकास हुने महराको भनाई थियो । त्यस अवसरमा महतवा महासंघका केन्द्रीय अध्यक्ष तथा प्रदेश नं. ५ का प्रदेशसभा सदस्य डिल्ली चौधरीले उक्त संग्रहालय हेर्न दैनिक पाँचसयदेखि एकहजारसम्म आउने गरेको बताए । थारु समुदायको पहिचान संरक्षण गर्नुकासाथै नयाँ पुस्तालाई थारु संस्कार र संस्कृतिकाबारेमा जानकारी दिनकालागि संग्रहालय निर्माण गरिएको उनले बताए । त्यस अवसरमा नेकपा तुलसीपुरका अध्यक्ष खुसीराम शर्मा, नेकपाका नेता यज्ञबहादुर केसीलगायतको सहभागिता थियो ।