म्याद थप गर्न राहत शिक्षकको माग
तुलसीपुर, २६ साउन ।
नेपाल राहत शिक्षक समिति तुलसीपुरले राहत शिक्षकहरुलाई ध्यानाकर्षण गरेको छ । सोमबार समितिका अध्यक्ष मेघराज घिमिरेको नेतृत्वमा गएको टोलीले बिभिन्न ६ वटा माग राखि ज्ञापन पत्र समेत बुझाएको छ ।
जसमा शिक्षामहाशाखाले निर्देशन गरेको विभिन्न तहका राहत शिक्षक, सहयोगी कार्यकर्ता, बिद्यालय कर्मचारी,कार्यालय सहयोगीहरुको म्याद थप गर्न, विद्यालय दरबन्दी मिलान तथा ब्यबस्थापन गर्दा राहत शिक्षकलाइ कनिष्ट नमानी नियुक्तीका आधारमा पायक पर्ने स्थानमा मात्र सरुवा तथा व्यबस्थापन गर्न, प्रअहरुको तहगत नियुक्ति गर्ने क्रममा योग्यता पुगेका राहत शिक्षकलाइ पनि प्रअ हुन पाउने ब्यबस्था मिलाउन माग गरेको छ ।
त्यस्तै प्रावि थापापानीका शिक्षक स्व. कुल बहादुर कुँवरको परिवारलाइ राहत रकम उपलब्ध गराउनु पर्ने तथा सम्पुर्ण राहत शिक्षकहरुको संचित बिरामी बिदाको रकम स्थानीय तहबाटै उपलब्ध गराउनुपर्ने, राहत शिक्षक तथा बाल बिकासमा कार्यरत सहयोगी कार्यकर्ताको समेत सञ्चय कोष खडा गर्ने, तुलसीपुरमा कार्यरत शिक्षक तथा कर्मचारिको पीसीआर परिक्षण तथा स्वास्थ्य बिमाको ब्यबस्था गर्न माग समेत गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भास्कर गौतम र शिक्षा संयोजक देवराज बिश्वकर्मालाई ज्ञापन पत्र बुझाएका हुन् ।
त्यस अवसरमा अहिले देशैभर राहत शिक्षकहरुको म्याद थपको प्राबधान भएकाले सम्पुर्ण राहत शिक्षक, बिद्यालय कर्मचारी एवं सहयोगी कार्यकर्ताहरुको ब्यक्तिगत विवरण फाइल खडा गरि नियुक्ति पत्र , नियुक्ति समर्थन पत्र भए सो पत्र, शैक्षिक योग्यताका प्रमाणपत्र, अध्यापन अनुमती पत्र,नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बुझाइ विवरण अध्याबधिक गर्न सहयोग गर्ने सहमति समेत भएको छ ।
समितिले राखेका यी मागहरुका विषयमा आफुहरु गम्भीर बन्ने संयोजक विश्वकर्माले बताए । त्यस अवसरमा सचिब एकराज भन्डारीलगायतको सहभागिता रहेको थियो ।