प्रशासकीय अधिकृत घुससहित पक्राउ
दाङ, साउन १७ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तुलसीपुरबाट काठमाडौं जाँदै गरेको अवस्थामा उनलाई शुक्रबार साँझ नागढुंगामा पक्राउ गरेको हो ।
अख्तियारको टोलीले उपाध्यायसँग १ लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद गरेको छ । सो रकम भुक्तानीबापत ठेकेदारसँग घुस लिएको अख्तियारले दाबी गरेको छ । घुस लिएर काठमाडौं जाँदै गरेको सूचनाका आधारमा अख्तियारको टोलीले नियन्त्रणमा लिएर खानतलासी गर्दा सो रकम फेला पारेको हो ।
यसैबीच, तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले आफुलाई काठमाडौ जान लागेको बारे जानकारी नै नगराएको बताउनुभयो । अख्तियारको नियन्त्रणमा परेको समाचार अरुबाट थाहा पाएपछि मात्रै काठमाडौं पुगेको आफुलाई यस विषयमा जानकारी भएको उहाँले बताउनुभयो ।
यस्तै, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अख्तियारको टोलीले घटनाका बारेमा जानकारी पाएरै नियन्त्रणमा लिएको हुन सक्ने बताउनुभयो । कुन विषयमा सो रकम लिएको हो भन्ने बारेमा अख्तियारले नै सबै कारवाही अघि बढाउने हुँदा यस बारे आफुले केही बोल्न नमिल्ने बताउनुभयो ।