नरैनापुरमा स्वास्थ्य सेवा सुधार गरिने
जेठ १२ दाङ ।
प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बाँके नरैनापुरको क्वारेन्टिनलाई व्यवस्थित बनाइने र स्वास्थ्य सेवाको अवस्थामा सुधार गरिने बताउनुभएको छ । संवाद समूहले आज गरेको भर्चुअल बैठकमा मन्त्री बरालले नरैनापुरका नागरिकले अनुभूति हुने गरी स्वास्थ्य संस्था स्थापनाको कार्य अघि बढाइने प्रतिबद्धता जनाउनुभयो ।
भर्चुअल बैठकमा मन्त्री बरालले कोरोना संक्रमणको भयावह अवस्था सिर्जना हुन सक्ने बताउँदै प्रदेश सरकारले नरैनापुरस्थित स्वास्थ्य केन्द्रको स्तरोन्नतिका लागि सम्पूर्ण तयारी शुरु गरिसकिएको स्पष्ट पार्नु भयो ।
भर्चुअल छलफलमा सहभागी बाँकेको सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य कृष्णा केसीले नरैनापुरलगायतको स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि सबै तहका सरकारको ध्यानाकर्षण गराइए पनि समयमा सुनुवाइ नभएको गुनासो गर्नुभयो । उहाँले आइसोलेशनसहितको सामुदायिक अस्पताल सञ्चालन, क्वारेन्टिन व्यवस्थापन र स्वास्थ्य विज्ञसहितको टोली परिचालनको आवश्यकता तत्काल पूरा गर्नुपर्ने माग राख्नुभयो ।
छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाकअहमद शाह, सोही पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराललगायतले भाग लिनु भएको थियो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोनाबाट संक्रमित १४६ मध्ये ११३ जना नरैनापुर क्षेत्रका मात्र छन् भने एक जनाको मृत्यु भइसकेको छ ।