जंगलबीचको एउटा घर : जहाँ बस्छन्, कलिला दुई वालवालिका
दीपक बोहरा
तुलसीपुर, १० जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ को नयाँबस्तीमा एक्लै बस्छन् १२ र ६ बर्षीया दिदी भाई । जंगलको बीचमा रहेको त्यो बस्ति । त्यही बस्तिमै रहेको सानो झुप्रो । त्यही झुप्रोमा कलिला दिदीभाईको दैनिकी चलिरहेको छ ।
तीन बर्ष अघि उनीहरुका वुवा ५६ बर्षीय दिलवहादुर पुनले श्रीमति हत्यापछि जेल सजाय भोगी रहेका छन् । उनीहरुको सात जनाको परिवार थियो । ति मध्ये तीन छोरीहरुको विहे भइसकेको छ । दिलबहादुर श्रीमति हत्या पछि जेलमा गएपछि अहिले १२ बर्षीया कान्छि छोरी तिला पुन र छोरा ६ बर्षीय टिकाराम पुन एक्लै घरमै बस्दै आएका छन् ।
तीन बर्षदेखि आफुहरु एक्लै बस्दै आएको तिलाले बताईन् ।“आमाको मृत्यु पछि वुवा जेल जानुभयो, वुवा जेल गएपछि हाम्रो अरु कोही भएन”, उनले भनिन् “ तीन बर्षदेखि हामी एक्लै बस्दै आएका छौं ।”
जंगलबीचमा घर भएकाले रातिमा एक्लै घर बस्न पनि डर लाग्ने गरेको उहाँको भनाई छ ।“वरिपरि जंगल छ, रातिमा एक्लै बस्दा डर लाग्छ”, उनले भनिन् ।
उनीहरु आफैले काम गरि खान सक्ने अबस्थामा छैनन् । गाउँघर, छिमेकी, आफन्तको सहयोगमा उनीहरुले दैनिकी चलाईरहेका छन् । बिभिन्न संघ–संस्थाको सहयोग र नजिकका आफन्तीले चामल, दाल सहयोग मागेर दैनिकी चलाई रहेका छन् ।
‘गाउँले मिलेर बनाईदिएका थिए घर’
जंगल छेउकै ऐलानी जग्गामा दुईतल कच्ची घर थियो । तर, त्यो घर पनि उनका वुवा जेल चलान भएको केही दिनमै भत्कियो । त्यसपछि स–साना कलिला वालवाललिकाहरुलाई बिचल्ली भयो । घर भत्किएपछि पनि उनीहरु छिमेकीको शरणमा पुगे । छिमेकीहरुले नै अहिले बस्दै आएको कच्ची दुईकोठे घर निर्माण गरेको तीलाले बताउनुभयो । त्यो घर पनि बर्षादमा चुहिने र हिउँदामा जाडोले सताउने गरेको उहाँले दुखेसो पखिन् ।
यो समस्या देखिएपछि अहिले केही युवाहरुको सक्रियतामा नयाँ घर निर्माण गर्ने कार्य समेत सुरु भएको छ । तुलसीपुर निवासी जयराम वली, सुमन केसी, प्रदिप भण्डारी, एचआर मगरसहितको युवाहरुको समूहले आफैले श्रमदान तथा आवश्यक खर्च व्यहोरेर घर निर्माण कार्य सुरु गरेका छन् ।
दुई वटा कोठा, शौचालयसहितको घर निर्माण गर्न लागेको स्थानीय जयराम वलीले बताए । “जंगलको छेउमा घर थियो, त्यो पनि कच्ची थियो”, उनले भने “ यस्तो घरमा उनीहरुलाई रातदिन कटाउन समस्या हुन थालेपछि मैले घर निर्माणमा लाग्ने सबै खर्च व्यहोर्ने र केही युवाहरुको सक्रियतामा श्रमदान गर्ने गरि काम अघि बढाएका छौं ।” अबको एक हप्ता भित्र घर निर्माण कार्य पूरा भइसक्ने उनको भनाई थियो ।
‘किताव नहुँदा विद्यालय जान रोकिएको थियो’
तिला कक्षा ४ मा अध्ययनरत छन् । तर उनी कहिल्यै पनि राम्रोसंग विद्यालय जान पाईनन् ।“कहिल्यै जान्थेँ, कहिल्यै जादैनथेँ ”, उनले भनिन् “ घर हेर्ने पनि कोही नहुने, र कापी, कलम, डे«ेस पनि हुदैनथ्यो,त्यसैले विद्यालय जान पनि लाग लाग्थ्यो ।” त्यस्तै उनका भाई टिकाराम पनि कहिल्यै जाने र कहिल्यै नजाने गर्थे । घरमा दुई दिदी भाई मात्रै बस्ने भएकाले विद्यालय जान–आउन असहज हुने गरेको उनले बताईन् । त्यतिबेला पनि केही संस्थाहरुले कपि, कलम दिने गरेको भएपनि त्यो प्रयाप्न नभएको उनको भनाई थियो ।