दाङमा खुकुरी प्रहारबाट घाईते पुनको कोहलपुरमा उपचार, चन्दको ‘डिस्चार्ज’

तुलसीपुर, १० जेठ ।

दाङमा शुक्रबार राति १५÷२० जनाको समूहले खुकुरी प्रहार गर्दा घाईते भएका एकजनाको कोहलपुरमा उपचार भइरहेको छ, भने अर्का एक जना डिस्चार्ज भएका छन् । शुक्रबार राती ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं.११ ठुटीमा भएको उक्त घटनामा गम्भीर घाईते भएका तुलसीपुर उपमहानगरपालिका – ११ बेल्टाकुरी निवासी ४५ बर्षीय पूर्ण बहादुर पुनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारकालागि कोहलपुर रेफर गरिएको हो । उनलाई शुक्रबार राति पौने १२ बजेतिर कोहलपुर रेफर गरिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घाइते पुनको टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था अहिले सुधारउन्मुख भएको बताइएको छ । त्यस्तै अर्का घाईते बर्दिया घर भई हाल तुलसीपुर उपमहानगरपालिका – ११ बस्ने वर्ष २२ बर्षीय महेन्द्र चन्दको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि डिस्चार्ज गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुर उपमहानगरपालिका –११ बेलटाकुरीकै ललिता मल्ल ठकुरी लगायत १५–२० जनाको समुहले पुनको घर घेराउ गरी ढुंगा मुडा र खुकुरी समेत प्रहार गरेका थिए । तर उनीहरु अझै पक्राउ परेका छैनन् । फरार रहेका उनीहरुको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले बताए । सामान्य विवादका कारण घटना भएको प्रहरीले बताएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर