संक्रमितले खाएका भाँडा जथाभावी फाल्न थालेपछि स्थानीयको आपत्ति
तुलसीपुर, ५ जेठ ।
बेलझुण्डी स्थित कोरोना विशेष अस्पताल व्यबस्थित नभएको भन्दै स्थानीयले चिन्ता ब्यक्त गरेका छन् । सोमवार वेलझुण्डी क्षेत्रमा आसपासमा रहेका ५ वटा टोलविकास संस्थाहरुको बैठकले कोरोना विशेष अस्पतालमा विरामी तथा स्वास्थ्यकर्मीहरुले खाना खाएका जुठा भाडाहरु छाडा चौपायाले चाट्ने गरेको, अस्पताल परिषरमा तारजालीको व्यवस्थापन हुन नसकेको, प्रवेशद्वारमा कामगर्ने तथा मेस चलाउने व्यक्तिहरु समेत गाउगाउंमा खुलेआम घुमिरहेको, तरकारी र पानी उपलव्ध गराउने साधनहरु समेत अन्य बस्तीमा समेत घुमिरहेको भन्दै ध्यानाकर्षण गराएका छन् ।
बैठकमा कोरोना विशेष अस्पतालका आसपासका एकीकृत टोल विकाश संस्था, देवीपुर टोलविकाश संस्था, जमेरामंगरी टोलविकाश संस्था, वनकट्टि टोल विकाश संस्था, निमुवा टोलविकाश संस्था र वेलघारी टोलविकाश संस्थाका पदाधिकारी र प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकले दाङ जिल्लामै कोरोना विशेष अस्पताल सन्चालनमा आउनु गौरवको विषय भएको निर्णय गर्दै विरामीहरुबाट संक्रमण फैलने प्रसस्तै सम्भावना रहेको भन्दै संबन्धित निकायमा ध्यानाकर्षण गराउने समेत निर्णय गरेको एकिकृत टोलविकाश संस्थाका सचिव कपिल लामिछानेले बताए ।
बैठकमा कोरोना अस्पतालमा विरामीले प्रयोग गरेका खानाखाने थाल र बचेको खानाको उचित व्यवस्थापन गरीनुपर्ने, सड्ने र नसड्ने बस्तुलाइ दिनदिनै नियमित रुपमा विशर्जन गरीनुपर्ने, छाडा चौपाया तथा व्यक्तिहरुको आवतजावतलाइ नियन्त्रण गरीनुपर्ने, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिहरुलाइ अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिनुपर्ने, गेटमा ड्युटिगर्ने सुरक्षाकर्मिलाइ पनि अन्य बस्तीहरुमा घुमफिर गर्न बन्देज गर्ने, विरामीले खाएका जुठाभाडा तथा अन्य पदार्थलाइ बैज्ञानिक रुपमा डिस्पोज गरीनुपर्ने तथा भान्साबाट उत्पादित फोहर राख्ने स्थानमा अनिवार्य रुपमा तारजाली लगाएर व्यवस्थापन गर्नुपर्ने पनि बैठकले निर्णय गरेको छ ।
अस्पतालमा बजेटको भन्दा पनि व्यवस्थापनको समस्या देखिएकाले संक्रमण फैलनबाट अस्पताल प्रशासन गम्भीर हुनुपर्ने पनि उनको अभिव्यक्ति थियो ।
अस्पताल व्यवस्थापनले पनि केहि कमजोरीलाइ स्वीकारर्दै फोहर व्यवस्थापनमा गम्भीर भएको जनाएको छ । अस्पताल व्यवस्थापनमा खटिएका नेपाल संस्कृत विश्वविद्यालयका कर्मचारी विनय पोख्रेलले कोरोना विशेष अस्पतालबाट उत्पादन भएको फोहर व्यवस्थापनमा आफु गम्भीर भएको बताए । अस्पताल परिषरमा अझैपनि छाडा चौपाया आउने अवस्थालाइ ध्यान दिंदै गल्ने र नगलने फोहर व्यवस्थापनको काम सुरु भैसकेको बताए । यद्धपि यो विषयमा स्थानिय पालिकालाइ ध्यानाकर्षण गराउने पनि उनको भनाइ थियो ।
बैठकको निर्णय सुनाउंदैगर्दा अस्पतालका सदस्य सचिव डा शर्वेश शर्माले पनि अस्पतालमा विरामीले खाएका भाडाकुंडाको बैज्ञानिक व्यवस्थापन गर्ने बताए । तर उनले एउटा अनलाइनमा बोल्दै आफुले बाख्रा कुखुरा धपाउने नभएर विरामीको उपचार गर्ने ठाडो अभिव्यक्ति दिए । यसले सदस्य सचिव समेत अस्पतालको फोहर व्यवस्थापनका सवालमा पन्छिन खोजेको देवीपुर टोलविकाश संस्थाका संरक्षक गिरीराज पाण्डेले बताएका छन् ।
यसैबीच सोमवारै वेलझुण्डी अस्पताल परीषरमा स्थानिय जनप्रतिनिधिहरुले समेत फोहर व्यवस्थापन र अन्य व्यवस्थापकिय कमजोरीका विषयमा सुझाव दिएका छन् । तुलसीपुर उपमहानगरपालिका—१७ का अध्यक्ष थलराज पुरी र १८ का अध्यक्ष माधव वलीले वेलझुण्डी अस्पताललाइ संक्रमण रहित बनाउने बताएका छन् ।
अस्पताल परिसरमा तारजाली लगाउने तथा किचनबाट उत्पादित फोहरलाइ खाडलमा बैज्ञानिक रुपले व्यवस्थापन गर्ने तयारी भैसकेको पनि अध्यक्ष वलीको अभिव्यक्ति थियो । सोहि छलफलमा सहभागी तुलसीपुर उपमहानगरपालिका—१७ का अध्यक्ष थलराज पुरीले पनि अस्पतालका कारण स्थानियबासी संक्रमित भएभने सवैभन्दा ठुलो दुर्भाग्य त्यहि हुने भन्दै तत्काल व्यवस्थापकिय सुधार गर्न चेतावनी दिएका थिए ।
अस्पतालमा कार्यरत चिकित्सक र अन्य स्वास्थ्यकर्मि, चौकिदार, भान्सामा कामगर्ने व्यक्तिहरु समेत नियमित रुपमा क्वारेन्टाइनमै बस्नुपर्ने उनको अभिव्यक्ति थियो ।