सालको एकसय क्यूफिट बढि काठ बरामद

दाङ, ४ जेठ ।

डिभिजन वन कार्यालय दाङले अवैध ढंगले काटिएको सालको एक सय क्यू फिट भन्दा बढी चिरान काठ बरामद गरेको छ । घोराही उपमहानगरपालिका वडा नं १८ हात्तीखर्कका स्थानीय घर र आगनमा चिरान गरी राखेको अवस्थामा आइतबार दिउँसो ९१ थान सालको काठ बरामद गरेको सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिए ।

लकडाउनको समयमा घर नजिकैको जंगलमा सामुदायिक वनमा अवैध ढंगले काठ काटेर राखेको भन्ने सुराकीका आधारमा डिभिजन वन कार्यालय दाङबाट गएको गस्ति टोलीले बरामद गरेको हो । भौगोलिक दृष्टीले घोराही उपमहानगरपालिकाको बिकट क्षेत्रका रुपमा लिइने हात्तीखर्कमा बरामद गरिएको काठलाई डिभिजन वन कार्यालय दाङमा ल्याउने काम भइरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले बताए ।

दुई वटा घोरलको छाला बरामद

सालको काठसगै वन गस्ति टोलीले वन्यजन्तु घोरलको छाला पनि बरामद गरेको छ । दुई वटा घोरलको छाला बरामद गरिएको सहायक वन अधिकृत सिद्धान्त बराले जानकारी दिए । दुवै घटनाबारे छानविन भइरहेको र दोषिलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम कारबाही गरिने डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।

लकडाउनको समयमा चोरी तस्करी हुन सक्ने भन्दै डिभिजन वन कार्यालय दाङले अलगअलग समूह बनाई वनगस्तिलाई तिव्र पारेको जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर