शान्तिनगर गाउँपालिकाको चौतर्फी आलोचना
तुलसीपुर, ३१ वैशाख ।
बर्दियाका कोरोना संक्रमितलाई दाङ ल्याउन लागेको भन्ने सूचनाका आधारमा दाङको शान्तिनगर गाउँपालिकाले जारी गरेको बिज्ञप्तिको चौतर्फी आलोचना भएको छ । गाउँपालिकाले बर्दियाका संक्रमित दाङ ल्याए दाङ नै संक्रमित हुने तर्क राखेर मंगलबार बिज्ञप्ति जारी गरेपछि आलोचना भएको हो ।
प्रदेश ५ सरकारले नेपालगञ्ज, बुटवल र दाङमा कोरोना बिशेष अस्पताल सञ्चालनमा ल्याएको अबस्थामा प्रदेशका १२ वटै जिल्लाका विरामीलाई यी तीन अस्पताल मध्ये जुनमा पनि राख्न सकिने भएपनि गाउँपालिकाले अन्य जिल्लाका बिरामी ल्याउन नहुँने गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले जारी गरेको बिज्ञप्तिमा छ ।
‘‘ बर्दिया जिल्लाबाट कोभिड १९ का बिरामी ल्याई दाङमा उपचार गराउनु भनेको दाङ जिल्लाभित्र कोरोना भाइरस भित्र्याउने दुष्प्रयास हो, त्यसैले यस्ता कार्यलाई गम्भीरतापूर्वक लिइदिनु हुन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु’ विज्ञप्तिमा भनिएको छ ‘कोरोना भाइरस संक्रमण भएका बिरामी भित्र्याउँदा उत्पन्न हुने महामारीको जोखिम तथा क्षतिको सम्पूर्ण जिम्मेवारी सरोकारवाला सम्बन्धित पक्षले लिनुपर्छ ।’
यो बिज्ञप्ति पस्चात राष्ट्रिय जनता पार्टीकी प्रदेश सभा सांसद कल्पना पाण्डे लम्सालले मुख्यमन्त्री शंकर पोखरेलको ध्यानाकर्षण गराएकी छन् ।
प्रदेश सरकारको लगानीमा स्थापना भएको कोरोना विशेष अस्थायी अस्पतालमा अन्य जिल्लाका बिरामी ल्याउन नपाइने भनी गाउँपालिका अध्यक्षले विज्ञप्ति निकाल्नु आश्चर्यजनक भन्दै सांसद पाण्डेले मुख्यमन्त्रीले यस्ता विषयमा ध्यान पुर्याउनुपर्ने आग्रह गरेकी छन् ।
‘बर्दियाका कोरोना संक्रमित बिरामीलाई बर्दियामा नराखेर किन दाङ ल्याइएको भनेर विज्ञप्ति निकालिएको देखेर अचम्म लाग्यो, प्रदेश सरकारले यत्रो लगानी गरेर हस्पिटल बनाउनुको के अर्थ ? यदि अर्को जिल्लाको नाममा बिरामी लैजान पाइँदैन भने ? यसतर्फ सबैले ध्यान दिइयोस्’ सांसद पाण्डेले भनेकी छन् ।