पश्चिम दाङका ११ स्वास्थ्य चौकीमा पिपिई
तुलसीपुर, २३ चैत ।
पश्चिम दाङका ११ वटा स्वास्थ्य चौकीमा पिपिई उपलब्ध गराईएको छ । दाङ निर्वाचन क्षेत्र नं. ३ का ११ वटा स्वास्थ्य चौकीमा आईतबार पिपिई उपलब्ध गराईएको हो, भने यस निर्वाचन क्षेत्रका अन्य स्वास्थ्य चौकीमा पनि पिपिइ उपलब्ध गराउने तयारी रहेको छ ।
यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीको पहलमा बिभिन्न संघसंस्थाबाट संकलन भएको सहयोगबाट उक्त सामग्री प्रदान गरिएको हो । सांसद केसीका अनुसार तुलसीपुर उपमहानगरपालिकाका, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिकाका ३÷३ वटा र बबई गाउँपालिकाका दुईवटा स्वास्थ्य चौकीमा सामग्री सहयोग गरिएको हो ।
नेपालमा कोभिड–१९ को संक्रमण फैलिन नदिन तथा रोकथामकालागि स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्न आफुले उक्त सहयोग गरेको सांसद केसीको भनाई छ ।
स्वास्थ्यकर्मीको ब्यक्तिगत सुरक्षाकालागि पिपिई, स्यानेटाईजर, ग्लोब्स, मास्क, थर्मोमिटर सहयोग गरिएको हो । केसीका अनुसार तुलसीपुर उपमहानगरपालिकाका टरिगाउँ स्वास्थ्य चौकी, पबननगर स्वास्थ्य चौकी, उरहरी स्वास्थ्य चौकी, दंगीशरण गाउँपालिकाको गोल्टाकुरी स्वास्थ्य चौकी, हेकुली ईलाका स्वास्थ्य चौकी, श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त सामग्री वितरण गरिएको हो ।
त्यस्तै शान्तिनगर गाउँपालिकाको धनौरी स्वास्थ्य चौकी, चिराघाट स्वास्थ्य चौकी र बाघमारे स्वास्थ्य चौकी तथा बबई गाउँपालिकाको खिलतपुर स्वास्थ्य चौकी, पुरन्धारा स्वास्थ्य चौकीमा ति सामग्री प्रदान गरिएको हो । ति सबैमा एक÷एक वटा पीपीई सहयोग् गरिएको हो । पीपीई पाएपछि आफुहरु खुसी भएको स्वास्थ्य संस्थाका प्रमुखहरुले प्रतिक्रिया दिएका छन् ।
उक्त कार्यक्रममा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज ओली, तुलसीपुर च्याम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, तुलसीपर उद्योग बाणिज्य संघका महासचिब रुपबहादुर खत्री, नेकपाका नेता चुर्णबहादुर वली, बिष्णु केसी, मिनराज वली, अमित शर्मालगायतको सहभागिता रहेको थियो ।