आठ लाख ‘स्मार्ट’ लाईसेन्स छाप्न बाँकी
दाङ, १८ मंसिर ।
सरकारले झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहेको छ । दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ प्रयोगमा नआउँदा विभागमा छाप्न बाँकी चालक अनुमतिपत्र गत महिनाभन्दा बढेका हुन् ।
गत कात्तिक मसान्तसम्ममा झण्डै सात लाख ८६ हजार चालक अनुमतिपत्र छाप्न बाँकी रहेका यातायात व्यवस्था विभागले जनाएको छ । अहिले विभागमा रहेका पुराना ‘प्रिन्टर’ बाट छपाइ भइरहेको विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । उनका अनुसार पुराना उपकरणको क्षमताभन्दा बढी चालक अनुमतिपत्र छाप्नुपर्ने बाध्यता रहेकाले छाप्नुपर्ने चालक अनुमतिपत्र बढिरहेका हुन् ।
‘मास प्रिन्टर’ सञ्चालनका लागि दक्षजनशक्ति नहुँदा अहिल यहाँ कार्यरत जनशक्तिलाई तालीम दिइरहेको उनले बताए । चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा उर्तीण र नविकरणका लागि आवेदन दिएकाको सङ्ख्या झण्डै आठ लाख पुगेको हो । यो सङ्ख्या अघिल्लो तीन चार वर्षदेखि नै महिनापिच्छे बढिरहेको छ । ‘मास प्रिन्टर’ र चालक अनुमतिपत्र छाप्नका लागि १० लाख कार्ड खरीद गरेसँगै विभागले छाप्न बाँकी कार्ड सकाउने बताउँदै आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन सम्झौतामा ‘मास प्रिन्टर’ प्रयोगमा आएसँगै अहिले रहेको चालक अनुमतिपत्र छपाइ तीन महिनामा सम्पन्न गर्ने उल्लेख थियो ।