सुकुटे दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या १७
काठमाडौं
१७ कात्तिक/ सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार १५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।दोलखाको मुडे देउरालीबाट काठमाडौंका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुवाहक बस सुनकोशी नदीमा खस्दा १५ को घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार मृतक १५ मध्ये नौ महिला, एक बालिका, दुई पुरुष र तीन बालक छन्।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक माधवप्रसाद काफ्लेका अनुसार सनाखत हुनेमा दोलखा भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिता केसी, त्रिपुरा सुन्दरी गाउँपालिका–४ सिन्धुपाल्चोककी २७ वर्षीया चमेली श्रेष्ठ र उनकी छ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका–३ की ५१ वर्षीया रत्नकुमारी राउत, सोही स्थानका तीन वर्षीय बालक सिसन तामाङ छन्।
दिउँसो सवा एक बजे भएको दुर्घटनामा अझैसम्म पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेका छन्।नदीमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकालिए पनि बसभित्र कोही नभेटिएको प्रहरीको भनाइ छ।
यात्रु सबै बगाएको अनुमान गरिएकाले मृतक सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।बस सडकबाट ३५ मिटर तल खसेर सुनकोशी नदीमा पुगेको थियो।