देउखुरी स्थित नेपालको दोस्रो लामो पुल निर्माण पूरा
तुलसीपुर, १६ कात्तिक ।
नेपालकै दोस्रो ठूलो पुल निर्माण कार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम पूरा भएको हो । आठ सय ६० मिटर लम्बाई र साढे १० मिटर चौडाइ रहेको उक्त पुल करिब एक अर्ब लगानीमा निर्माण पूरा भएको हो ।
अनक निर्माण सेवाले आर्थिक बर्ष २०७२÷०७३ देखि निर्माण कार्य शुरु गरेको हो । आव ०७६÷७७ भित्र पुल निर्माण सक्ने सम्झौता भए पनि त्यस अगावै निर्माणको काम पूरा भएको पुल निर्माणको योजना कार्यान्वयन गराउने सरकारी निकाय पुल योजना सेक्टर नम्बर ३ का योजना प्रमुख सुनिल बाबु पन्तले बताए । ‘पुल निर्माणका लागि चार वर्षको सम्झौता भएको थियो ’ उनले भने ‘तर सम्झौता अवधि पूरा गर्नु चार महिनाअघि नै हामीले काम पूरा गरेका छौँ ।’
अहिले पुल निर्माण पूरा भएको र त्यहाँ पुग्ने सडक निर्माणको काम भईरहेको उनले बताए । उक्त पुलको आउदो माघ महिनामा उद्घाटन हुने समेत उनको भनाई छ ।
उक्त पुल निर्माण भएसंगै देउखुरीको राप्ती नदी वारपार गर्न सहज भएको छ । अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्ती पारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घन्टाको सवारी यात्रा गर्नुपर्ने अबस्था थियो, तर पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने सिसहनियाँ स्थानीयले बताए ।
यो पुल निर्माण भएपछि आयआर्जनमा टेवा पुग्नेछ । जिल्लाको देउखुरी क्षेत्र कृषि उत्पादनका लागि महत्वपूर्ण मानिने भएकाले यही क्षेत्रमा प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मकै सुपरजोन कार्यक्रम पनि सञ्चालनमा छ । तर, पुलको अभावमा स्थानीय किसानले कृषि उत्पादनको बजारीकरण गर्न सकेका थिएनन् ।