आर्थिक अभाबले बिकको उपचार प्रभाबित, आर्थिक सहयोग संकलन
तुलसीपुर, १६ असोज ।
माटोको ढिस्कोमा पुरिएर गम्भीर घाईते भएकी दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फुलवारी निवासी २२ बर्षीय संगीता विश्वकर्मालाई आर्थिक सहयोग संकलन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) तुलसीपुर नगर कमिटि सचिबालय सदस्य तथा नगर बिकास समिति सदस्य दिपशिखा घर्ती र नगर कमिटि सदस्य मोहन पौडेलको पहलमा सहयोग संकलन गरिएको हो ।
बुधबार तुलसीपुरमा भएको सहयोग संकलन अभियानबाट ५२ हजार पाँचसय १० रुपैँया संकलन भएको पौडेलले जानकारी दिए । उनका अनुसार एक हप्ता अघि घर लिप्नकालागि माटो ल्याउने क्रममा ढिस्कोले पुरिएर बिक गम्भीर घाईते भएकी हुन् । उनको अहिले नेपालगञ्ज स्थित नर्सिङ होममा उपचार भईरहेको छ । खुट्टाको घुँडाको तल्लो भाग ‘फ्याक्चर’ भएकाले उपचारकालागि करिब साढे तीन लाख लाग्ने भन्दै सबैलाई सहयोग गर्न आग्रह गरे ।
एउटा ब्यक्तिको दुःखमा सहयोग गर्नु सबै नागरिकको दायित्व भएकाले सबैले सहयोग गर्न नेकपा दाङका प्रचार बिभाग सह–संयोजक आजाद खड्काले बताए । उक्त परिवार २०७१ सालको बाढी पीडित पनि भएको र आर्थिक अबस्था कम्जोर हुँदा उपचारमा प्रभाबित भएको भन्दै यो कार्यमा हातमा हात मिलाउन आग्रह गरे । सहयोग संकलन अभियनता पौडेलेले यस अघि पनि बिभिन्न ब्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् ।