सिडिओ जोशीद्वारा पत्रकारलाई ‘दलाल’ भनिँदै प्रहरी लगाएर केरकार, प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न

कोहलपुर वैशाख ५,- पत्रकारद्वारा नागरिकता सम्बन्धी जानकारी लिन गरिएको फोन वार्तामा बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मराज जोशीले पत्रकारलाई ‘दलाल’ भनेका छन् । थप रूपमा उनले जिल्ला प्रहरी प्रमुख (एसपी) तुलबहादुर कार्कीमार्फत पत्रकार शुभाकर विश्वकर्मालाई प्रत्यक्ष रुपमा फोन गरी ‘केरकार’ गरेका छन् । घटनाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर सवाल खडा गरेको छ।
शुक्रबार दिउँसो १२:५७ बजे मिसन टुडे मा कार्यरत पत्रकार शुभाकर विश्वकर्माले सरकारी नम्बर ९८५८०२७७७७ मा सिडिओ जोशीलाई सम्पर्क गरी मोहन गोडिया नामक व्यक्तिको नागरिकता प्रक्रिया बारे जानकारी लिने प्रयास गरेका थिए। सुरुमा शिष्ट संवाद भए पनि जब पत्रकारले “चार वर्षदेखि नागरिकता नपाएको विषयमा अदालतले समेत आदेश दिएको रहेछ” भन्ने जिज्ञासा राखे, त्यसपछि सिडिओले कडा प्रतिक्रिया दिए। उनले पत्रकारलाई ‘जो आए के बुझ्नुपर्छ बुझी प्रक्रिया पूरा गर्नुपर्छ’ भन्दै एकोहोरो धारणा राख्दै पत्रकारलाई ‘दलाल’ भने।
यही संवादको केही समयपछि, दिउँसो १:११ बजे पत्रकारको व्यक्तिगत नम्बरमा अज्ञात नम्बरबाट फोन आयो। पत्रकारले सो नम्बरमा १:१३ बजे व्याक कल गर्दा जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले फोन उठाएर आफू एसपी भएको जानकारी दिए। उनले पत्रकारसँग सोधे, “सिडिओले किन तपाईलाई फोन गर्न लगाए?” र “तपाईं नागरिकता सम्बन्धी कुरा किन गर्दै हुनुहुन्थ्यो?” भन्ने शैलीमा प्रश्न गरे।
पत्रकार विश्वकर्माले यो सम्पूर्ण घटनालाई राज्य संयन्त्रको दुरुपयोग र पत्रकारितामाथिको हस्तक्षेप भएको आरोप लगाएका छन्। उनले भने, “समाचार प्रयोजनका लागि सोधिएको सामान्य प्रश्नमा सिडिओले दलाल भन्नु निन्दनीय मात्र होइन, कानुनी राज्यको उपहास पनि हो।” पत्रकारका अनुसार प्रहरीलाई प्रयोग गरेर व्यक्तिगत नम्बरमा फोन गराई मनस्थितिमा दबाव सिर्जना गर्नु प्रेस स्वतन्त्रताको खुला उल्लंघन हो।
यता, नागरिकता नपाएका मोहन गोडियाको केस पनि यति नै संवेदनशील देखिन्छ। अदालतको आदेशपछि समेत प्रक्रिया अघि नबढ्नु, प्रशासनिक ढिलासुस्ती वा उदासीनताको संकेत हुनसक्छ। सिडिओ जोशीले भने प्रक्रिया पूरा नगरेका व्यक्तिहरूलाई नागरिकता नदिइएको बताए।