मथुरालाई पवित्र तीर्थस्थलका रूपमा विकास गरिने

अर्घाखाँची, चैत २४- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सन्धिखर्कस्थित मथुरालाई देशकै पवित्र धार्मिक तीर्थस्थलका रूपमा विकास गरिने बताउनुभएको छ । मथुरा बाङ्लाको गोपेश्वर पीठ र राधाकृष्ण मन्दिरमा सञ्चालन भएको श्रीमद् देवीभागवत एवं शतचण्डी महायज्ञ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मथुरालाई धार्मिक महत्वको स्थलका रूपमा विकास गरिने बताउनुभएको हो ।
सो क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा पनि सडकको स्तरोन्नति गर्न बजेट विनियोजन भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो स्थललाई अर्घाखाँची वा लुम्बिनी प्रदेशको मात्रै नभई देशकै धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न जरुरी छ ।” जङ्गबहादुर जन्मिएको भनेर चिनिने ऐतिहासिक पौवाको समेत संरक्षण गर्ने काम सरकारले गरेको उहाँले जानकारी गराउनुभयो । भविष्यमा बृहत्तर गुरुयोजना निर्माण गरेर मथुराको समुचित विकास गरिने योजना रहेको उहाँले उल्लेख गर्नुभयो । भक्तजनको चाहना अनुसार प्रदेश सरकारले धार्मिक स्थलको विकासलाई प्राथमिकता दिने बताउँदै उहाँले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनसमेत सरकारले विशेष ध्यान दिने स्पष्ट पार्नुभयो ।
यसैबिच पार्टीका सन्धिखर्क नगर अध्यक्ष कुशल भुसालका पिता विष्णुप्रसाद भुसालको श्रद्धाञ्जली सभामा बोल्दै मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको सिङ्गो कम्युनिस्ट आन्दोलनलाई उचाइमा पु¥याउन तथा समाज रूपान्तरणको अभियानलाई व्यापक बनाउन दिवङ्गत विष्णुप्रसाद भुसालले खेल्नुभएको भूमिकाको उच्च मूल्याङ्कन गर्नुभयो । जीवनको ऊर्जाशील उमेर राजनीतिक जागरणमा खर्चिएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले उहाँले देखाएको बाटोमा सबै अविचलित भएर लाग्ने र उहाँका सपना पूरा गर्ने सङ्कल्प व्यक्त गर्नुभयो ।