महिला पत्रकारहरूका लागि मानव अधिकार र पत्रकार आचार संहिता सम्बन्धी अभिमुखिकरण कार्यक्रम

कोहलपुर चैत ५ – महिला पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मानव अधिकार कानुन र पत्रकार आचार संहिता सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ। संगम मल्टि मिडिया हबको आयोजना तथा कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजित उक्त कार्यक्रमले महिला पत्रकारहरूलाई कानूनी अधिकार, पेशागत नैतिकता र जिम्मेवारीबारे विस्तृत जानकारी प्रदान गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै कोहलपुर नगरपालिका उपमेयर संगिता सुवेदीले, महिला पत्रकारहरूको भूमिकालाई अझ सशक्त बनाउन कानूनी ज्ञान र पेशागत तालिमको महत्त्वबारे जानकारी दिएकी छिन् । पत्रकारिता समाज परिवर्तनको संवाहक भएको उल्लेख गर्दै उनले महिला पत्रकारहरूले आफ्नो दक्षता अभिवृद्धि गर्दै सशक्त भुमिका खेल्नुपर्नेमा जोड दिएकी छिन् ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी ले पत्रकार आचार संहिता र मानव अधिकार कानुनबारे जानकारी गराउँदै पेशागत मर्यादा, निष्पक्षता र नैतिकतामा विशेष ध्यान दिनुपर्ने बताए । उनले महिलाहरू पत्रकारिता क्षेत्रमा क्रियाशील हुँदा पेशागत चुनौतीहरू सामना गर्नुपर्ने भन्दै, यस्ता कार्यक्रमहरूले उनीहरूलाई थप सक्षम बनाउने विश्वास व्यक्त गरे ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकालले महिला पत्रकारहरूका लागि यस्तो अभिमुखिकरण कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले महिलाहरूले भोग्ने पेशागत कठिनाइहरू समाधान गर्न नीति निर्माण तहमा सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै, पत्रकारितामा महिला नेतृत्व बढाउन जोड दिए ।
कार्यक्रममा बोल्दै संगम मिडिया हबका संयोजक पवित्रा परियारले महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न संस्थागत पहल आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेकी छिन् ।
महिला पत्रकारहरूको पेशागत दक्षता, कानूनी जानकारी र आत्मविश्वास अभिवृद्धिमा मद्दत गर्ने विश्वासका साथ सम्पन्न उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।