रवि र छविको मुद्दा एकैसाथ हेरिने उच्च अदालतको आदेश

भैरहवा, चैत २- , उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामछाने र छविलाल जोशीको मुद्दा एकैसाथ हेरिने आदेश दिएको छ । सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति लामिछाने र पूर्वडिआइजी जोशीको मुद्दा एकैसाथ हेरिने उच्च अदालत बुटवलको इजलासले बिहीबार साँझ आदेश दिएको हो ।
उच्च अदालत तुलसीपुर बुटवलको एक नम्बर इजलासमा न्यायाधीश राजेश्वर तिवारी र सागर विष्टले लामिछाने र जोशीको मुद्दा सँगसँगै राख्न आदेश दिनुभएको हो । जिल्ला अदालतको आदेश अनुसार थुनामा नराखी मुद्दा लड्नुपर्ने छविको माग, रविलाई धरौटीमा नछाडी थुनामा राख्नुपर्ने सरकारी वकिलको माग, रविको धरौटीबिना साधारण तारिखमा बस्न पाउने निवेदनसहित तीन वटा मुद्दा जोडिएर एउटै पेसीमा जाने छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार बेन्चबाट रवि र छवि सँगै जोडिएको एउटै मुद्दा हेर्नुपर्ने आदेश आएको छ, अब अर्को हप्ता थप केही आउने छ । यसअघि सरकारी वकिलले लामिछानेको मुद्दा पनि जोशीसँगै राखेर सुनुवाइ गर्न माग गरेपछि इजलासले लामिछानेको कैफियत प्रतिवेदन माग गरेको थियो । सुप्रिम सहकारी ठगी प्रकरणमा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सोही मुद्दामा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले गोर्खा मिडियाका सञ्चालकसमेत रहेका पूर्वडिआइजी जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । थुनाको आदेशविरुद्ध जोशीका छोरा रोचकले उच्च अदालतमा निवेदन दिनुभएको थियो । उक्त निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै माघ ३० मा उच्च अदालतका न्यायाधीश तिवारीको इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो ।
सरकारी वकिलले फागुन १ मा लामिछानेलाई एक करोड धरौटीसहित तारिखमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध पनि निवेदन दिएको थियो तर उच्च सरकारी वकिलको कार्यालयले भने रविलाई थुनामा राख्नुपर्ने माग गर्दै निवेदन दिएको छ ।
रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा आफूसँग माग भएको एक करोड धरौटी खारेजी र साधारण तारिखमा छाड्नुपर्ने माग गर्दै लामिछाने गत सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुग्नुभएको थियो । उच्च सरकारी वकिल बुटवलका सूचना अधिकारी एवं सहायक न्यायाधीवक्ता वसन्तराज पोखलले रवि र छविको मुद्दा स्वतः जोडिएर एकीकृत भएको बताउनुभयो । सुप्रिम सहकारीका एक हजार आठ सय ३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपियाँ हिनामिना गरेको अभियोगमा रवि र छविसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
बचतकर्ताहरू नारायणबहादुर पहराईको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेपछि जिल्ला सरकारी वकिल रुपन्देहीले मुद्दा दायर गरेका थियो । उक्त मुद्दामा सहकारी अध्यक्ष ओमप्रकाश गुरुङ सुरुदेखि नै थुनामा छन् भने रवि र छविसहितलाई पूरक अनुसन्धान गर्ने आदेशका आधारमा पछि मुद्दा चलाएको थियो । रविले रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पहिलो पटक सोमबार तारिख बुझ्नुभएको थियो । उहाँलाई अर्को तारिख आगामी वैशाख २३ गतेलाई दिइएको अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताउनुभयो । यता पूर्वडिआइजी छविलाल जोशी भने रुपन्देही अदालतको आदेशमा थुनामा हुनुहुन्छ ।