कार्यसम्पादन मूल्याङ्कनमा राप्ती सोनारी गाउँपालिका पहिलो

कोहलपुर फागुन २९ – बाँके जिल्लाका स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन, संस्थागत क्षमता स्वमूल्याङ्कन र वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको छ ।
वर्ष २०८१-८२ को कार्यसम्पादन मूल्याङ्कन अनुसार जिल्लाको राप्ती सोनारी गाउँपालिका ६०.०१ अंकसहित पहिलो स्थानमा रहेको छ । सोही प्रकारले बैजनाथ गाउँपालिका ५९.२७ अंक र कोहलपुर नगरपालिका ५८.२१ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। नेपालगन्ज उपमहानगरपालिका ४६.८९ अंकसहित सातौँ स्थानमा छ भने जानकी गाउँपालिका ४३.५९ अंकसहित अन्तिम स्थानमा रहेको छ ।
स्थानीय संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा डुडुवा गाउँपालिकाले ९५.२५ अंक प्राप्त गर्दै अग्रस्थान हासिल गरेको छ भने खजुरा गाउँपालिकाले ९१.२५ अंक र राप्ती सोनारी गाउँपालिकाले ९०.७५ अंक हासिल गरेर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
नरैनापुर गाउँपालिकाले शून्य अंक प्राप्त गरेको देखिएको छ । यसैगरी, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा राप्ती सोनारी गाउँपालिका ९९.५ अंकसहित पहिलो स्थानमा रहेको छ भने खजुरा गाउँपालिका ९० र जानकी गाउँपालिका ८८.५ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाले शून्य अंक प्राप्त गरेका छन् ।