चाडपर्व आपसी सद्भावको प्रतीक हुन्: मुख्यमन्त्री आचार्य

कोहलपुर फागुन २९ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। शुक्रबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मौलिक चाडपर्वहरूले समुदाय बीच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

असत्यमाथि सत्य, अन्यायमाथि न्याय, र अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा मनाइने फागु पूर्णिमा (होली) पर्वले समाजमा प्रेम, भाइचारा र मित्रताको सन्देश फैलाउने उहाँको विश्वास छ। मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार मौलिक कला र संस्कृतिको संरक्षण, प्रवर्धन र विकासमा प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रदेशको विविध सांस्कृतिक सम्पदा, परम्परा, र मौलिक पहिचान नै समृद्ध लुम्बिनी प्रदेशका आधार भएको बताउनुभयो। उहाँले यस्ता मौलिक सम्पदाको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभएको छ।

पर्व मनाउने क्रममा कुनै पनि विकृति र विसङ्गति प्रवेश गर्न नदिन आग्रह गर्दै मुख्यमन्त्री आचार्यले सभ्य, मर्यादित र सौहार्दपूर्ण रूपमा होली मनाउन अपिल गर्नुभएको छ। यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् भन्ने कामना गर्दै उहाँले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने पर्वको रूपमा होली मनाउन अनुरोध गर्नुभयो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर