नेपालमा राजावादीको चलखेलमा सङ्गठित प्रयास भइरहेको छ : प्रचण्ड

काठमाण्डौ फागुन २७, – प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा राजावादीको चलखेलमा सङ्गठित प्रयास भइरहेको बताउनुभएको छ । उहाँले पुरातनपन्थी राजतन्त्रवादी हौसिएका र यसमा वर्तमान सरकारको कमजोरी रहेको टिप्पणी गर्नुभयो ।
आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजावादीको चलखेल किन बढ्दै गयो भन्दै सरकारलाई प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘वर्षौंसम्म राजतन्त्र पुनर्स्थापनाको सपना देख्न डराएकाहरूले अहिले सडकमै ओर्लिएर चुनौती दिएका छन् । यसका पछाडि सङ्गठित प्रयास छ । देशभित्र र बाहिरका चलखेल मिसिएका छन् ।’
आठ महिनाअघि माइतीघर मण्डला खाली हुँदै गएको तर अहिले सहकारी, लघुवित्त पीडित, शिक्षक, किसान, महिलालगायत सबै आन्दोलनमा रहेका भन्दै प्रचण्डले अवस्था जटिल बनेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय आन्दोलनबाहेक अरू विकल्प देख्न छाड्नुपर्ने अवस्था किन आयो भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डले गणतन्त्रको विकल्प निरङ्कुशता नभई समाजवादी गणतन्त्र भएको बताउँदै गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रमा अहिले निकै चुनौती आएको भन्दै प्रचण्डले चिन्ता व्यक्त गर्नुभयो । वर्तमान दुई तिहाइको सरकार बिचौलियाले चलाएका समेत उहाँको आरोप छ ।
यसैबीच आफ्नो सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा उपस्थित नभएको भन्दै प्रचण्डले गुनासो गर्नुभएको छ । कोशी प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम रहेकाले प्रधानमन्त्री ओली अनुपस्थित हुनुभएको हो । यसअघि गएको गएको माघ २४ गते प्रचण्डले संसद्मा सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली संसद्मा अनुपस्थित हुनुभएको थियो ।