डब्ल्यूएचओको मापदण्डभन्दा नेपालको हावा ८ गुणाले खराब

कोहलपुर फागुन २७,- सन् २०२४ मा नेपालको हावा झनै प्रदूषित भएको छ । विश्वभर हावाको गुणस्तर अनुगमन गर्ने संस्था आईक्यू एअरले प्रकाशन गरेको प्रतिवेदन अनुसार सन् २०२४ मा प्रदूषित देशहरूको सूचीमा नेपाल सातौं नम्बरमा पुगेको छ । यो सूचीमा नेपाल सन् २०२३ मा आठौं र २०२२ मा १६औं नम्बरमा थियो ।
आईक्यू एअरको तथ्याङ्क अनुसार सन् २०२४ मा नेपालको हावामा आँखाले नदेखिने धूलोको कण पीएम २ दशमलव ५ सरदरमा ४२ दशमलव ८ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ । यो मात्रा सन् २०२३ मा ४२ दशमलव ४ माइक्रोग्राम र सन् २०२२ मा ४० दशमलव १ माइक्रोग्राम प्रतिघनमिटर थियो । यो स्वस्थ हावाको तुलनामा आठ गुणाभन्दा धेरै प्रदूषित हो । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० को मापदण्ड अनुसार हावामा पीएम २।५ को मात्रा वार्षिक औसतमा ५ माइक्रोग्राम घनमिटरभन्दा बढी हुन हुँदैन ।
आईक्यू एअरले सन् २०२४ मा विश्वका १ सय ३८ देशको हावाको गुणस्तर मापन गर्ने पीएम २।५ भनिने धूलोको कणको तथ्याङ्कका आधारमा प्रतिवेदन तयार पारेको जनाएको छ । धेरै प्रदूषण रहेका देशको सूचीको पहिलो नम्बरमा अफ्रिकी देश चाड परेको छ । यस्तै दोस्रोमा बङ्गलादेश, तेस्रोमा पाकिस्तान, चौथोमा कङ्गो र पाँचौंमा भारत परेका छन् ।
यस्तै विश्वका सफा देशको तुलनामा नेपालीले श्वास फेर्ने हावा १३ गुणा धेरै प्रदूषित छ । सन् २०२४ मा हावा सर्वाधिक स्वच्छ रहेका १२ देश तथा क्षेत्रको पीएम २।५ को मात्रा सरदरमा ३ दशमलव २५ माइक्रोग्राम प्रतिघनमिटर मात्र छ । सफा हावा भएका देश तथा क्षेत्रमा बहमास, बर्मुडा, फ्रेन्च पोलिनेसिया, यूएस भर्जिन आइल्यान्ड्स, न्युजिल्यान्ड, अस्ट्रेलिया लगायत छन् ।
प्रदूषित हावाकै कारण नेपालीको आयु औसतमा ३ वर्ष ३ महिनाले घटिरहेको पनि आईक्यू एअरको प्रतिवेदनमा उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग, क्यान्सर लगायत रोगको जोखिम बढ्छ ।