होलीमा जथाभाबी रङ्ग नदल्न काठमाण्डौ प्रशासनको अनुरोध

काठमाण्डौ फागुन २७, – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले फागु अर्थात् होली पर्वमा जथाभाबी रङ्ग नदल्न र कसैको इच्छा विपरीत लोला हान्ने काम नगर्न सचेत गराएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रवक्ता एवम् सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले विज्ञप्ति निकालेर सामाजिक सद्भाव कायम गरी मर्यादित रूपमा होली मनाउन अनुरोध गर्नुभएको छ ।
यस वर्ष पहाडी जिल्लामा पर्सि फागुन २९ गते र तराईरमधेशका जिल्लामा चैत १ गते फागु अर्थात् होली मनाइँदैछ । कोही कसैले अमर्यादित, उच्छृङ्खल एवम् गैरविपरीत कार्य गरेमा प्रचलित कानून अनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।