भारतीय मुर्रा राँगाबाट पाडापाडी उत्पादन सुरु

कोहलपुर फागुन २७ – बाँके जिल्लाको खजुरा गाउँपालिका-२ स्थित गौघाटमा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा भारतीय उन्नत जातका मुर्रा राँगाबाट कृत्रिम गर्भाधान गराएर पाडापाडी उत्पादन सुरु भएको छ। यस सफल प्रयोगले भैँसीपालनमा नयाँ सुधार ल्याउने आशा गरिएको छ।

कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीका अनुसार, भारतीय मुर्रा राँगाको वीर्य सङ्कलन र उत्पादन प्रक्रिया पछिको परीक्षणपछि भैँसीलाई कृत्रिम गर्भाधान गराइ पाडापाडी उत्पादन सुरु गरिएको हो। भारतीय मुर्रा राँगाबाट प्राप्त वीर्यलाई प्रयोग गरेर, अब यहाँ पाडा उत्पादनको प्रक्रिया सफलतापूर्वक सुरु भएको जानकारी जैसीले दिएका छन्।

पशु सेवा प्राविधिक जैसीका अनुसार, गत वर्ष भारत सरकारले नेपाललाई १५ वटा मुर्रा राँगा अनुदानको रूपमा प्रदान गरेको थियो, जसमा तीन वटा उन्नत जातका मुर्रा राँगाहरू खजुरा स्थित कार्यालयमा ल्याइएका थिए। यसमा दुई राँगाबाट वीर्य सङ्कलन र उत्पादन गर्दै आएको थियो, र अब त्यहि वीर्यबाट कृत्रिम गर्भाधान गरेर भैँसीको पाडा उत्पादन गर्न सफल भएका छन्।

खजुरा गाउँपालिका-२, ‘एलगाउँ’ का किसान बमराज रेग्मीले आफ्नो भैँसीलाई भारतीय मुर्रा राँगाको वीर्यबाट कृत्रिम गर्भाधान गराएका थिए, र त्यसको नतिजा स्वरूप उनका भैँसीले पाडा जन्माएको हो। किसान रेग्मीले भने, “पहिला मेरो भैँसी दूध उत्पादनमा अलि कमजोर थियो, तर मुर्रा राँगाको वीर्यबाट गर्भाधान गरेपछि दूध उत्पादनमा वृद्धि भएको छ, र फ्याटको मात्रा पनि बढी भएको छ।”

पशु सेवा प्राविधिक जैसीले जानकारी दिनुभयो कि, भारतीय मुर्रा राँगाबाट गर्भाधान गरेर ब्याएको भैँसीले राम्रो दूध उत्पादन गरेको छ, र यसका सन्तानहरूले अझ बढी दूध उत्पादन गर्ने सम्भावना रहेको छ।

पशु प्रजनन कार्यालयका पशु विकास अधिकृत डा. खिमानन्द खनालले, “सन् २०२३ मा भारतीय मुर्रा राँगाबाट एक लाख २० हजार २४५ डोज वीर्य सङ्कलन गरी उत्पादन गरिएको थियो। चालु आर्थिक वर्षमा एक लाख डोज वीर्य उत्पादन गर्ने लक्ष्य कार्यालयले लिएको छ।”

यस नयाँ प्रयोगबाट नेपालमा भैँसीपालनमा सुधार ल्याउने र दूध उत्पादनमा वृद्धि गर्ने आशा गरिएको छ। यसबाट पाडा उत्पादनका नयाँ अवसरहरूको सृजना हुनसक्ने सम्भावना छ, जसले ग्रामीण क्षेत्रमा कृषकहरूको जीवनस्तरमा सुधार ल्याउन मद्दत पुर्याउने विश्वास छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर