विपत् सम्बन्धि कृत्रिम घटना अभ्यास


कपिलवस्तु फागुन २५
– जिल्लाको यशोधरा गाउँपालिका–८, खोरियामा विपत् उद्धारसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल डङ्गरीले आगलागी र बाढीको पूर्वतयारी स्वरूप विपत् जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास गराएको हो ।

गाउँघरमा ग्यासबाट खाना पकाउँदा आगलागीका घटना भएको खण्डमा त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले कृत्रिम घटना अभ्यास गराइएको सशस्त्र प्रहरी निरीक्षक नवराज देवाकोटाले बताउनुभयो । त्यस्तै खोरिया गाउँ विगतदेखि नै नदी कटानका कारण जोखिममा रहेकोले प्राकृतिक विपत्ति अन्तर्गत बाढी, नदी कटानबारेमा खोज तथा उद्धार पूर्वतयारी स्वरूप विपत् जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास गराइएको उहाँले बताउनुभयो ।

सो अवसरमा बोल्दै यशोधरा गाउँपालिका–६ का वडाध्यक्ष चन्द्रप्रकाश दुबेले प्राकृतिक विपत्बाट पालिकावासीलाई जोगाउन तथा उद्धार र राहतका लागि पालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । साथै उहाँले यसका लागि सबै पक्षको सहयोग हुनुपर्ने बताउनुभयो ।

दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदासले हाल आगलागीको जोखिम उच्च रहेको र यशोधराका खोरिया, बेलसापुर क्षेत्र वर्षायाममा बाढी र कटानको जोखिम उच्च हुने गरेकाले विपत् प्रतिकार्य अभ्यासको आयोजना गरेको बताउनुभयो ।

सो क्रममा आगलागी भएको समयमा कसरी सुरक्षित तरिकाले आगो निभाउने र बाढी आएको बेला डुबेकालाई उद्धार कसरी गर्ने भन्ने अभ्याससमेत गराइएको थियो । उक्त कार्यक्रम दलित सामाजिक विकास केन्द्रको आयोजना, युनाइटेड मिसन टु नेपालको सहयोग र सशस्त्र प्रहरी बलको प्राविधिक सहयोगमा गरिएको हो । सो अवसरमा डुबेको बेलामा स्थानीय स्रोतसाधनको प्रयोगले पनि उद्धार गर्न सकिने अभ्यास गराइएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर