प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सुरु: लुम्बिनी प्रदेशमा नयाँ इतिहास रचिने

दाङ, फागुन २५- प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो।

प्रतियोगिताको उद्घाटन दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको थियो, जहाँ मुख्यमन्त्री आचार्यले ब्याटिङ गर्नु भएको थियो भने, क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ गरेर प्रतियोगिताको शुभारम्भ गर्नु भयो। यस प्रतियोगिताको आयोजना नेपाल क्रिकेट सङ्घ (क्यान) ले दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सिद्धार्थ रङ्गशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा गरेको हो।

मुख्यमन्त्री आचार्यले उद्घाटन समारोहको अवसरमा खेल पर्यटनको महत्त्व बारे चर्चा गर्दै खेलको क्षेत्रले मुलुकको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्। “खेल पर्यटनको विकास भइरहेको छ। यो सुखद पक्ष हो,” उहाँले भन्नुभयो। उहाँका अनुसार, खेलले आर्थिक समृद्धिको आधार तयार पार्दै विदेशी पर्यटकलाई आकर्षित गर्न मद्दत पुर्याएको छ। खेल क्षेत्रको पूर्वाधार विकास र खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि सरकारले विशेष ध्यान दिएको उहाँको भनाइ थियो ।

क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले प्रधानमन्त्री कपलाई नेपाली क्रिकेटका लागि नयाँ मञ्चको रूपमा प्रस्तुत गर्दै यस प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्ने अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

यो प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीहरूको सहभागिता रहनेछ। वर्तमानमा देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश बीच खेल भइरहेको छ ।

यस प्रतियोगिताले लुम्बिनी प्रदेशमा क्रिकेटको स्तर उकास्ने र यस क्षेत्रको खेल पर्यटनलाई प्रवर्द्धन गर्ने आशा गरिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर