युभिसिसिले उचाल्यो स्व. वीरेन्द्र स्मृति क्रिकेटको उपाधि ।बिजेता र उप बिजेता टिमले पाए क्रमशः १ लाख ५० हजार र ७० हजार नगदसहित ट्रफी

कोहलपुर फागुन २०- युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा संचालित तेस्रो संस्करणको स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले उचालेको छ ।
कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालनमा रहेको प्रतियोगिताको मंगलबार नेशनल क्रीकेट एकेडेमी लम्किलाई ६८ रनले हराउँदै युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले उपाधि उचालेको हो । गत फागुन १५ गतेबाट सञ्चालित तेस्रो संस्करणको स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता मंगलबार समापन भएको हो ।
समापन समारोहलाई सम्वोधन गर्दै लुम्विनी प्रदेस सभा सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि वसन्ति अधिकारीले युवाहरुलाई खेलका माध्यमवाट सत्मार्गमा लाग्न उत्प्रेरणा गर्नु आजको मुख्य दायित्व भएको औंल्याउदै कुलतमा फसेर आफनो स्वास्थ्यमात्र हैन समाजमा नै विक्रिति विसंगति भएकाले रचनात्मक काममा युवाहरुलाई लगाउन सक्ने हो भने समाज संबद्धिको ढोका खुल्नेमा विश्वास ब्यक्त गरिन ।
उनले हरेक कार्यक्रममा आफुले युवा लक्षित परियोजनाहरुलाई प्राथामिकता दिने गरेको चर्चा गर्दै माननिय सांसद अधिकारीले कोहलपुरका युवाहरुले आयोजना गर्ने स्व. वीरेन्द्र स्मृत कपलाई निरन्तरताकालागि आफुले प्रदेश सरकार समक्ष प्रस्तावका रुपमा लैजाने वचनवद्धता समेत ब्यक्त गरिन ।
उनले भनिन म यो प्रतियोगिताको निरन्तरताकालागि आफुले सक्ने प्रयास गर्नेछु, खेल मात्र हैन युवामैत्रि हरेक कार्यक्रममा मेरो साझेदारि रहनेछ । देश निर्माणमा युवाहरुको श्रम, पसिना र ईमान्दारिताको खाँचो भएको औंल्याउदै सांसद अधिकारीले देशमा केहि हुन सक्दैन भन्ने निराश मानसिकतालाई राजनैतिक नेतृत्वले चिर्दै उत्पादनमुलक कार्यमा लाग्न प्ररित गर्नुपर्नेमा ठोस कानुन निर्माण गरिनुपर्ने आफनो मत रहेको जिकिर गरिन ।
कार्यक्रममा कोहलपुर वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारी, वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह , समाजसेवी दिपेन्द्र कठायत लगाएत अतिथिहरुले मन्तब्य राखेका थिए ।
समापन कार्यक्रममा च्याम्पियन बनेको युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरलाई लुम्बिनी प्रदेश सदस्य बसन्ति अधिकारि, कोहलपुर नगरपालिका वडा न ५ का अध्यक्ष दीपेन्द्र श्रेष्ठ, कोहलपुर नगरपालिका वडा न ११ का अध्यक्ष कल्पना शर्मा लगायतले नगर पुरस्कार सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
च्याम्पियन युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरलाई नगद पुरस्कार १ लाख ५० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको हो । त्यस्तै उप बिजेता नेशनल क्रीकेट एकेडेमी लम्किलाई ७० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
मंगलबार भएको फाइनल खेलमा नेशनल क्रीकेट एकेडेमी लम्किले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङ्गको निम्तो पाएको युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १६३ रन बनायो । युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरका लागि निर्मल गुरुङले सर्बाधिक २९ रन बनाए । प्रणित थापाले २५, अनिमेश शाहिले २४ रन बनाए । त्यस्तै बलिङ तर्फ नेशनल क्रीकेट एकेडेमी लम्किका हेमन्त क्षेत्रीले ३ र कवि बमले २ विकेट लिए ।
युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले जितका लागी दिएको १६४ रनको लक्ष्य पछ्याएको नेशनल क्रिकेट एकेडेमीले १९।५ ओभरमा ९५ रन बनाउदै अलआउट भयो । नेशनल क्रिकेट एकेडेमीका लागी आशिष लोहारले सर्बाधिक २४ र कवि बमले १६ रन बनाए । बलिङ्ग तर्फ युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरका सुजात हुसेनले ४ विकेट र सुनिल सुनारले २ विकेट लिए ।
कोहलपुर ३ किरननालाका स्व. वीरेन्द्र शाहिको स्मृतिमा कोहलपुर २ मा रहेको युनाईटेड भिजन क्रिकेट क्लवको आयोजनामा तेस्रो संस्करणको खुल्ला टि २० क्रिकेट प्रतियोगिता–२०८१, नकआउट चरणमा खेलाईएको थियो । प्रतियोगितामा ८ वटा टिम सहभागी थिए ।