लुम्बिनी युवा सम्मेलन: बहसबाट समाधान खोज्ने प्रयास

कोहलपुर फागुन १६- बाँकेको कोहलपुरमा लुम्बिनी युवा सम्मेलन एवम् युथ फेस्टिवल–२०८१ उत्साहका साथ संचालन भैइरहेको छ। फागुन १५ गतेदेखि सुरू भएको फेस्टिवलको दोस्रो दिन, आज युवासँग प्रत्यक्ष सरोकार राख्ने पाँच महत्वपूर्ण विषयमा गहन बहस तथा छलफल भएको छ ।

पहिलो दिन कला, संस्कृति र परम्पराको झल्को दिने सांस्कृतिक महोत्सव आयोजना गरिएपछि, दोस्रो दिन युवाको सामाजिक, राजनीतिक, शैक्षिक तथा प्रविधि सम्बन्धी भूमिकालाई केन्द्रीत गरेर छलफल गरिएको हो। कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जाल, कोहलपुर बाँके को आयोजनामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, नेताहरू, वातावरणविद्, शिक्षाविद् तथा प्राविधिक विशेषज्ञहरूको उपस्थिति थियो।

युवाको राजनीति प्रवेशः अवसर कि चुनौती?

राजनीतिक सहभागिताबारेको सत्रमा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालपूर्व युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’ ले युवाहरूको सक्रियता अपरिहार्य रहेको बताए। उनीहरूका अनुसार राजनीति सफा र पारदर्शी बनाउन युवाको संलग्नता बढ्नु जरुरी छ।

त्यस्तै, महिला नेतृत्व र राजनीति विषयक छलफलमा लुम्बिनी प्रदेश सांसद कृष्णा केसी ‘नमुना’, बसन्ती अधिकारी, सञ्जुकुमारी चौधरी र कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदी को उपस्थिति थियो। उनीहरूका अनुसार महिलाको न्यून सहभागिता राजनीतिक संरचनाको कमजोरी हो, जसले महिलाका मुद्दा ओझेलमा पारेको छ।

वातावरण संरक्षणः युवाको पहल आवश्यक

पर्यावरण संरक्षणबारे बाँके राष्ट्रिय निकुञ्जका मन्दिप पंगेनी र प्रेम बुढा ले बहस गर्दै वातावरणीय संकट रोक्न युवाहरूले अग्रसरता लिनुपर्नेमा जोड दिए। उनीहरूका अनुसार जैविक विविधताको संरक्षण, वन विनाशको रोकथाम र जलवायु परिवर्तनसँग जुझ्न युवा पुस्ताको ठोस योजना आवश्यक छ।

प्रविधि र शिक्षा: युवा पुस्ताको भविष्य

प्रविधि र शिक्षासम्बन्धी छलफलमा लुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार रेग बहादुर भण्डारी, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपाने र आइटी विशेषज्ञ अंकित श्रीवास्तव सहभागी थिए। उनीहरूले आधुनिक प्रविधिको सही प्रयोगले युवाहरूलाई सशक्त बनाउन सक्ने धारणा राखे।

समाज परिवर्तनका लागि युवाको नेतृत्व

समाज परिवर्तनका लागि युवाको भूमिकाबारे शंकर न्यौपाने, सरिता निलसागर र नमस्कार शाह ले आफ्नो विचार प्रस्तुत गरे। उनीहरूले युवाले स्थानीय तहदेखि नै परिवर्तनकारी सोच राखेर काम गर्नुपर्ने बताए।

फेस्टिवलको तेस्रो दिन, आज शैक्षिक महोत्सव आयोजना हुँदै छ, जसमा विविध शैक्षिक प्रदर्शनी र बहस हुनेछन्। कार्यक्रम आजै समापन हुने तयारीमा छ।

यो सम्मेलनले युवाहरूलाई बहस गर्ने अवसर मात्र नभई उनीहरूलाई समाधानमुखी सोच्न सिकाउँदै सशक्तीकरणको दिशामा अघि बढ्न प्रेरित गरेको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर