सानो योगदान, ठूलो प्रभाव: विद्यार्थीहरूबाट गौशालाका लागि सहयोग

कोहलपुर फागुन ९ – “सहयोग सानो ठूलो हुँदैन, मन ठूलो हुनुपर्छ,” यही भावनालाई आत्मसात गर्दै कोहलपुर-६ रझेनास्थित बाल विद्या सेकन्डरी स्कूलका विद्यार्थीहरूले रामजानकी गौशाला संरक्षण सम्वर्द्धन समिति, कोहलपुरलाई आर्थिक सहयोग गरेका छन् ।

विद्यार्थीहरूले खाजाका लागि छुट्याइएको रकम संकलन गरी गौशालाको व्यवस्थापनका लागि ५ हजार रुपैयाँ बराबरको सहायता उपलब्ध गराएका हुन् । संकलित रकममध्ये ३ हजार ९ सय रुपैयाँ बराबरको दाना तथा १ हजार १ सय रुपैयाँ नगद गरी कुल ५ हजार रुपैयाँ समितिका सञ्चालक साबित्रि आचार्यलाई हस्तान्तरण गरिएको छ ।

विद्यालयका अध्यक्ष पदम खड्काले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको भावना विकास हुनु अत्यन्त सकारात्मक पक्ष हो, गौशालाको आवश्यकतालाई बुझेर विद्यार्थीहरूले गरेको सहयोग उदाहरणीय रहेको बताए ।
सहयोग रकम ग्रहण गर्दै गौशाला सञ्चालक साबित्रि आचार्यले गाईहरूको उचित संरक्षण र व्यवस्थापनका लागि सहयोग आवश्यक हुने भएको भन्दै विद्यार्थीहरूले मन देखाएर सहयोग गर्नु वास्तवमै प्रशंसनीय कार्य भएको बताएकी छिन्, यसले अरूलाई पनि प्रेरित गर्ने विश्वास लिएको छु बताइन् ।
उक्त अवसरमा बोल्दै विद्यालयका समन्वयकर्ता विक्रम डाँगीले “सहयोग गर्ने मानसिकता विद्यालय स्तरमै विकास हुनु जरुरी रहेको बताए । विद्यार्थीहरूले गरेको यो प्रयास सराहनीय छ, जसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाइ रहेको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
