बिद्यालयमा निःशुल्क आँखा तथा दन्त परिक्षण शिविर

कोहलपुर फागुन १०- कोहलपुर नगरपालिका वडा नम्बर ८ स्थित नमुना विद्या सदनले आफ्ना विद्यार्थी तथा अभिभावकहरूका लागि एक दिने निःशुल्क आँखा तथा दन्त परिक्षण शिविरको संचालन गरेको छ । प्रविधिको बढ्दो प्रयोगले बालबालिकाको स्वास्थ्यमा पार्ने असरलाई ध्यानमा राख्दै विद्यालयले उक्त शिविरको आयोजना गरेको हो ।
विद्यालयका प्रबन्ध निर्देशक शिव डाँगीका अनुसार बालबालिकाहरू लामो समय मोबाइल र ल्यापटप जस्ता उपकरणमा बिताउने भएकाले उनीहरूको आँखाको सुरक्षा सुनिश्चित गर्न परिक्षण आवश्यक देखिएको हो ।
शिविरमा कक्षा १ देखि १० सम्मका ८ सयभन्दा बढी विद्यार्थी र उनीहरूका अभिभावकहरूको परिक्षण गरिएको थियो ।
कौशिल्या अस्पताल प्रा.लि. कोहलपुरको प्राविधिक सहयोगमा सम्पन्न यस शिविरमा दृष्टि विशेषज्ञ आषिका यादव नेतृत्वको टोलीले आँखाको परिक्षण गरेका थिए । अस्पताल प्रशासन प्रमुख शंकर न्यौपानेका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले आँखा र दाँत परिक्षण निःशुल्क उपलब्ध गराएको हो ।
शिविरमा सामान्य समस्याहरूको तुुरुन्त समाधान गरिएको थियो भने गम्भीर दृष्टि समस्या भएका विद्यार्थीहरूलाई विशेष छुटका साथ थप उपचारको व्यवस्था गरिएको छ । विशेषगरी, दाँत र आँखाको स्वास्थ्य परस्पर रूपमा प्रभावित हुने भएकाले यो संयुक्त परिक्षणलाई प्राथमिकता दिइएको दृष्टि विशेषज्ञ यादवले बताइन् ।
नमुना विद्या सदनले शिक्षाका साथै स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै आएको छ । विद्यालयमा आयोजित शिविरले विद्यार्थी मात्र नभई अभिभावकहरूलाई पनि लाभ पुर्याएको छब। कोहलपुर ९ की अभिभावक मुन्नि वसफोरले विद्यालयको यो पहलकदमीले समाजमा स्वास्थ्य सचेतना अभिवृद्धि गरेको भन्दै आभार व्यक्त गरिन् ।