बाल सुधार गृह नौवस्तामा प्रजनन स्वास्थ्य, मानसिक समस्या तथा कानूनी परामर्श कार्यक्रम सम्पन्न

कोहलपुर फागुन ९- लुम्बिनी प्रदेशको बाँके जिल्लास्थित बाल सुधार गृह नौवस्तामा प्रजनन स्वास्थ्य, मानसिक समस्याहरू र कानूनी परामर्श विषयक एक दिने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो सत्रौं वार्षिकोत्सवको अवसरमा यो कार्यक्रम आयोजना गरेको हो।

यस कार्यक्रमको उद्देश्य बाल सुधार गृहमा रहेका बालकहरूलाई प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य र कानूनी परामर्श प्रदान गर्नु थियो, जसमा बालकहरूले प्रायः कानूनी विवाद, करणी सम्बन्धी समस्याहरू, सजायको छुट र बालन्यायका बारेमा जानकारी लिन इच्छा व्यक्त गरेका थिए।

कार्यक्रममा एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमले बालन्यायका कानूनी प्रावधान र कानूनी प्रक्रियाबारे सहजिकरण प्रदान गरे। यसका अतिरिक्त, भेरी अस्पताल नेपालगन्जका नर्सिङ्ग निरीक्षक बसुन्धरा ज्ञवाली र रुम कुमारी थनेतले प्रजनन स्वास्थ्य र किशोर अवस्थामा हुने मानसिक, शारीरिक र व्यवहारिक परिवर्तनहरूको बारेमा प्रशिक्षण प्रदान गरे।

कार्यक्रमको दौरान, बालकहरूले तनाव व्यवस्थापनका लागि योग, ध्यान, प्राणायाम, रिल्याक्सेसन, खेलकुद, कथा र नृत्यको अभ्यास पनि गरे। यसले उनीहरूको मानसिक स्थिति सुधार्न र तनाव कम गर्न मद्दत पुर्याएको बालकहरूले बताए।

यस कार्यक्रममा १०९ जना कानूनी विवादमा परेका बालकहरू सहभागी थिए, जसमा अधिकांश १८ वर्ष माथिका बालकहरू छन्। बालकहरूले कार्यक्रमको अवसरमा कानून र बालन्यायका कार्यबिधिहरूको बारेमा सिकेका छन् र यसले उनीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव परेको बताएका छन्।

साथै, बालकहरूले शैक्षिक सहयोग, अंग्रेजी भाषा सिकाइ, विज्ञान कक्षाको संचालन र खेलकुद सामग्रीको अनुरोध पनि गरेका छन्।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडका नेपालगन्ज शाखाका प्रबन्धक उमेश ज्ञवालीले कार्यक्रमको सफलता र महत्त्वलाई उजागर गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिन प्रतिवद्धता व्यक्त गरेका छन्।

यस कार्यक्रमले बालकहरूलाई प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य र कानूनी अधिकारका बारेमा जानकारी दिन मात्र नभई, उनीहरूको जीवनस्तरमा सुधार ल्याउने प्रयास गरेको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर