संस्थागत क्षमता स्वमूल्याङ्कनमा रोल्पा नगरपालिका पहिलो

रोल्पा, फागुन ३ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा रोल्पा नगरपालिका पहिलो स्थानमा रहेको छ। रोल्पाका १० स्थानीय तहमध्ये आर्थिक वर्ष २०८०/०८१ मा गरिएको यस मूल्याङ्कनमा रोल्पा नगरपालिकाले ९५ अङ्क प्राप्त गरी शीर्ष स्थान हासिल गरेको हो।
रोल्पा नगरपालिकाले शासकीय प्रबन्धमा ९ अङ्क, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट र योजना व्यवस्थापनमा ११, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १६, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ९.५ प्रतिशत, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण र विपद व्यवस्थापनमा ७.५ प्रतिशत, र सहकार्य र समन्वयमा ६ अङ्क प्राप्त गरेका छन्।
यसका साथै, लुङ्ग्री गाउँपालिकाले ९४.२५ अङ्क, सुनिलस्मृति गाउँपालिकाले ८९ अङ्क, गंगादेव र सुनछहरी गाउँपालिकाले समान ८८.५ प्रतिशत अङ्क प्राप्त गरेका छन्। त्रिवेणी गाउँपालिकाले ८५.२५ प्रतिशत, परिवर्तन गाउँपालिकाले ८३ अङ्क, थबाङ गाउँपालिकाले ८१.२५ प्रतिशत अङ्क प्राप्त गरेका छन्। रुन्टीगढी गाउँपालिकाले ८०.५ प्रतिशत र माडी गाउँपालिकाले ७८.२५ अङ्क प्राप्त गरेका छन्।
स्थानीय तहको सबल र दुर्बल पक्षहरूको विश्लेषण गर्ने उद्देश्यले यस स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको हो। स्वमूल्याङ्कन कार्यविधि २०७७ अनुसार, प्रत्येक पालिकाले आफ्नो कार्यकारी निर्णयबाट यस नतिजा स्वीकृत गरी आफ्ना वेबसाइट र सूचनापाटीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
स्थानीय तहको कार्यजिम्मेवारी र वित्त व्यवस्थापनसँग सम्बन्धित विभिन्न ऐन र कानूनी व्यवस्थाहरूको आधारमा यो मूल्याङ्कन गरिएको हो।