बैजनाथमा एचपिभी खोप अभियानको शुभारम्भ

कोहलपुर, फागुन १– बैजनाथ गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान बुधबारदेखि सुरु गरिएको छ। बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले विभिन्न खोप केन्द्रमा पुगेर अभियानको औपचारिक शुभारम्भ गरे। अभियानको शुभारम्भ गर्दै उनले लक्षित उमेर समुहका सबै किशोरीलाई खोप लगाउने सुनिश्चितता गर्न जोड दिए।

अध्यक्ष शाहीले भने, “लक्षित उमेर समुहका किशोरीहरुलाई खोप लगाउनबाट छुट्न नदिन आवश्यक गृहकार्य गरिएको छ।” उनले एचपिभी खोपका विषयमा गाउँपालिकाको स्वास्थ्य शाखासँग नियमित सम्पर्क राख्दै, खोपको कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिइरहेको पनि बताए।

नेपाल सरकारको राष्ट्रिय अभियान अन्तर्गत माघ २२ गतेदेखि देशभर खोप अभियान सुरु गरिएको थियो। जिल्लामा यो खोप कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको छ। बैजनाथसँगै राप्ती सोनारी, डुडुवा, र नरैनापुरमा बुधबारदेखि खोप अभियान शुरु भएको छ।

बैजनाथ गाउँपालिकामा आगामी फागुन ८ गतेसम्म खोप कार्यक्रम सञ्चालन गरिनेछ, जस अन्तर्गत सामुदायिक र संस्थागत विद्यालयका कक्षा ६ देखि १० सम्मका ३,९३३ विद्यार्थी र १० देखि १४ वर्ष उमेरका ३५ किशोरीलाई खोप लगाइने जानकारी स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले दिए।

बैजनाथका ४७ वटा सामुदायिक र संस्थागत विद्यालयमा खोप कार्यक्रम सञ्चालन गरिदैछ। खोप अभियान सञ्चालन गर्नुअघि, बैजनाथ गाउँपालिकाले ८ वटै वडाका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मीहरूसँग छलफल र अन्तरक्रिया गरेको थियो।

यो अभियानले लक्षित किशोरीहरुलाई खोप उपलब्ध गराएर पाठेघरको मुखको क्यान्सरबाट बचाव गर्ने महत्वपूर्ण कदम साबित हुने अपेक्षा गरिएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर