बाँकेका तीन पालिकामा १४औं पटक हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने अभियान

कोहलपुर माघ ३- बाँके जिल्लाका तीन पालिकामा १३ पटकसम्म लगातार औषधी खुवाइएपछि पनि हात्तीपाइले रोगका सङ्क्रमितहरू भेटिएकोले स्वास्थ्य कार्यालय बाँकेले १४औं पटक औषधी खुवाउने अभियान सुरु गर्न लागेको छ। केही व्यक्तिहरूले औषधि नखाएपछि हात्तीपाइले रोग फैलिरहेको अवस्था छ, जसले गर्दा यो अभियान फेरि सञ्चालन गर्न लागिएको हो।

यस अभियानको अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकामा फागुन ५ देखि, डुडुवा र नरैनापुरमा फागुन ७ गतेदेखि आम औषधी सेवन अभियान सुरु हुने भएको छ। स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीका अनुसार बाँकेमा २ लाख ५७ हजार बढीलाई औषधि खुवाइने लक्ष्य राखिएको छ।

नेपालगन्जमा १ लाख ६४ हजार ९६ जना, डुडुवामा ४२ हजार १७४ जना, नरैनापुरमा ४२ हजार ३६९ जना र बैजनाथको वडा नम्बर चारमा ८ हजार ९६२ जनासम्मलाई औषधि खुवाउने योजना छ।

यस पटक लक्षित सबै जनतालाई औषधी खुवाउने लक्ष्य रहेको भन्दै, स्वास्थ्य कार्यालयका अधिकारी दुर्गा गौतमले वडा अध्यक्षहरूको नेतृत्वमा धार्मिक अगुवा, समाजसेवी, महिला अगुवा, शिक्षक र राजनीतिक कार्यकर्ताहरूलाई समावेश गर्दै घरघरमा औषधि पु¥याउने योजना बनाइएको जानकारी दिए।

यस अभियानमा नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको वडा नम्बर चारमा १.८ देखि २.५ प्रतिशतको प्रिभेलेन्स (व्यापकता) देखिएको जनाएको छ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले, यी पालिकाहरूमा हात्तीपाइले रोगको प्रकोप उच्च भएको बताउनुभयो। महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले बाँके जिल्लाका यी पालिकामा हात्तीपाइले रोगको जोखिम अत्यधिक रहेको बताउँदै, यो अभियानलाई गम्भीरतासाथ लागू गर्न सबै सरोकारवालालाई आग्रह गर्नुभयो।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी र नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले, आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको सहयोग र समन्वयको आवश्यकता भएको बताए।

यस अभियानको उद्देश्य भनेको हात्तीपाइले रोगको प्रसारलाई नियन्त्रण गर्दै, यसबाट प्रभावित हुने जनसंख्यालाई सुरक्षित बनाउनु हो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर