एक घर एक धारा’ अभियानले लुम्बिनी प्रदेशमा खानेपानीको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता

कोहलपुर माघ १७– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले “एक घर एक धारा” अभियानले आधारभूत तहका उपभोक्ताका लागि खानेपानीमा पहुँच सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ। बिहीबार भालुबाङमा आयोजित प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री आचार्यले यस अभियानको प्रभावकारिता र भविष्यका लक्ष्यहरूमा प्रकाश पारे।

उनले भने, “प्रदेश सरकारको स्थापना हुनुअघि खानेपानीको अवस्था कस्तो थियो र अहिले कस्तो छ भन्ने कुरा सबैलाई थाहा छ। प्रदेश सरकारले जनतालाई खानेपानी पुर्याउन सघन योजनाहरू अघि बढाएको छ। अब सुरक्षित पानीको पहुँच सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं।”

लुम्बिनी प्रदेशमा हाल ९२ प्रतिशत जनतालाई खानेपानीको पहुँच पुगिसकेको छ र प्रदेश सरकार आगामी दिनहरूमा शुद्ध र सुरक्षित पानीको पहुँच सबै नागरिकलाई पुर्याउने लक्ष्यमा अग्रसर रहेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो।

लुम्बिनी प्रदेशमा हालसम्म ३,१७० खानेपानी आयोजना सञ्चालनमा छन्, जसमा १५ लाख ७ हजार ६६३ जना उपभोक्ताले शुद्ध खानेपानीको पहुँच पाएका छन्। २ लाख ३७ हजार ३४८ धारा वितरण भएका छन्। यस आर्थिक वर्षमा १,३९० योजनामा १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँको बजेट छुट्याइएको छ। अघिल्ला सरकारका समयमा ८० प्रतिशत काम सम्पन्न भए तापनि अझै पानी वितरण नगरेका १५६ योजनालाई यस वर्ष सम्पन्न गर्ने योजना छ। यस योजनाबाट ७ लाख ७ हजार थप उपभोक्तामा पानी पुर्याउने अनुमान गरिएको छ।

मुख्यमन्त्री आचार्यले भने, “जहाँ हात हाल्छौं त्यहाँ सफलता प्राप्त गर्नु आवश्यक छ। अधुरा योजनाहरूलाई पूरा गर्ने रणनीति तयार गरेका छौं। संविधानले प्रदत्त खानेपानीको अधिकारलाई सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं।”

साथै, उहाँले खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा महिलाको सहभागिता सुनिश्चित गरिएको भए पनि त्यसलाई अझ अर्थपूर्ण बनाउनुपर्ने कुरामा जोड दिनुभयो। सहरी क्षेत्रका संस्थामा महिलाको भूमिका प्रभावकारी देखिएको भए पनि ग्रामीण क्षेत्रका संस्थामा महिलाको सहभागिता केवल सांकेतिक मात्र रहेको बताउँदै, उहाँले ग्रामीण क्षेत्रमा महिलाको सशक्तीकरणलाई प्राथमिकता दिने कुरा पनि उल्लेख गर्नुभयो।

यस अभियानले लुम्बिनी प्रदेशमा जनतालाई स्वस्थ र सुरक्षित खानेपानीको पहुँच पुर्याउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर