नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा दन्त शिक्षा र सेवाको शुरुवात

कोहलपुर, माघ १४ १५ – नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले दन्त शिक्षा र स्वास्थ्य सेवामा नयाँ अध्याय थपेको छ। कलेजले गत श्रावण ४ गतेदेखि डेन्टल अस्पताल सञ्चालनमा ल्याएर दन्त स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ, र अब दन्त शिक्षा संकायको अध्ययन र अध्यापन पनि सुरु भएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा कलेज प्रशासनले जानकारी दिएको अनुसार, २०७८ पुस २५ गतेदेखि कोहलपुर डेन्टल कलेजमा अध्ययन र अध्यापन शुरू भईसकेको हो। काठमाण्डौं विश्वविद्यालयबाट स्वीकृति प्राप्त भएको यो कलेजले बि.डि.एस. (बैचलर अफ डेन्टल सर्जरी) कार्यक्रमअन्तर्गत पहिलो वर्षमा १५ जना विद्यार्थीको कोटा प्राप्त गरेको छ भने, बि.एम.एल.टी. (ब्याचलर अफ मेडिकल लेबोरेटरी टेक्नोलोजी) र बि.एम.आई.टी. (ब्याचलर अफ मेडिकल इनफर्मेटिक्स टेक्नोलोजी) का लागि ५-५ जना विद्यार्थीको कोटा सुनिश्चित गरिएको कलेज प्रशासनले जनाएको छ।

कलेजका कार्यकारी अधिकृत सन्तोष कुमार विएलले जानकारी दिँदै भने, “काठमाण्डौं विश्वविद्यालयको प्रावधानअनुसार बि.डि.एस. कार्यक्रमको कोटा ४० जना विद्यार्थीको हुन सक्थ्यो भने, बि.एम.एल.टी. र बि.एम.आई.टी. का लागि प्रत्येकका लागि २०-२० जना विद्यार्थीको कोटा निर्धारण गरिएको छ। तर, आवश्यक पूर्वाधारको अभावका कारण, पहिलो चरणमा २५ जना विद्यार्थीका लागि कोटा सुनिश्चित गरिएको हो।”

नेपालगन्ज मेडिकल कलेजले दन्त परिक्षण सम्बन्धी ९ वटा डिपार्टमेण्ट स्थापना गरेको छ। यसमा अति विशिष्ट विशेषज्ञद्वारा उच्चस्तरीय सेवाहरू प्रदान गर्दै आईरहेको छ। यसका प्रमुख डिपार्टमेण्टहरूमा ओरल मेडिकल एण्ड रेडियोलोजी, मुख तथा अनुहारको शल्यक्रिया, मुख तथा अनुहारको क्यान्सर उपचार, हड्डी मिलाउने, कृतिम जरा राखी दाँत हाल्ने, अनुहारमा चोट पटक लागेको मिलाउने, प्रोस्थोडोन्टिक्स (नक्कली दाँत हाल्ने) लगायतका सेवा उपलब्ध छन्। यस्ता सेवा र उपचारहरू उच्चस्तरीय विशेषज्ञद्वारा प्रदान गरिएका छन्।

यसका साथै, कलेजले गिजा सम्बन्धी उपचार, बांगो दाँत मिलाउने, नमिलेको गिजा मिलाउने, दाँतको जरा सम्बन्धी सम्पूर्ण उपचार सेवा, स्वास्थ्य शिविर र जनचेतना कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको कलेजका सम्पर्क अधिकारी रामकृष्ण हमालले जानकारी दिएका छन्।

नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर २०५३ सालदेखि संचालनमा आएको हो र यसले स्वास्थ्य शिक्षा र सेवामा ठूलो योगदान पुर्याउँदै आएको छ। कलेजले अब दन्त शिक्षा र सेवाको क्षेत्रमा थप योगदान पुर्याउने विश्वास गरिएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर