सशस्त्र प्रहरीको ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण
कोहलपुर पुस २६, – सशस्त्र प्रहरीले आफ्ना सीमावासीसँगको सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले चलाएको ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा विपन्न बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेको छ ।
नरैनापुर गाउँपालिका ४ स्थित नेपाल भारत नाका नजिकको घोरदौडिया गाउँमा रहेको राष्टिय आधारभूत विद्यालयका २०० जना विद्यार्थीलाई यो सामग्री वितरण गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख एसपी बिमल डाँगीका अनुसार, नाका नजिकका नेपाली बासिन्दासँग छलफल र अन्तरक्रिया गरेर नागरिक र प्रहरीको सम्बन्ध अझ मजबुत बनाउनको लागि शैक्षिक र खेलकुद सामग्री प्रदान गरिएको हो ।
यस अवसरमा बालबालिकालाई कपि, कलम, पेन्सिल, इरेजर, सर्पनर र खेलकुद सामग्री जस्तै भलिबल, फुटबल, र ब्याडमिन्टनका सामान हस्तान्तरण गरिएको थियो । यस कार्यक्रमको उद्घाटन नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, सशस्त्र प्रहरी उपरिक्षक बिमल डाँगी, वडा अध्यक्ष मनोज शर्मा र विद्यालयका प्रधानाध्यापकद्वारा गरिएको थियो ।
सशस्त्र प्रहरीले यस कार्यक्रमलाई सीमामा बसोबास गर्ने नेपाली नागरिक र सुरक्षाकर्मी बीचको सम्बन्धलाई सुदृढ गर्न र सीमा सुरक्षा सुदृढ गर्न अत्यन्तै महत्वपूर्ण कदमको रूपमा लिएको छ। गाउँपालिकाका अध्यक्ष शाहले यस कार्यक्रमलाई समय सान्दर्भिक र सुरक्षा दृष्टिकोणले अत्यावश्यक रहेको बताएका छन्। उनका अनुसार, यस्तो किसिमका कार्यक्रमले विभिन्न गैरकानुनी गतिविधिहरू रोक्न र सीमा क्षेत्रको सुरक्षा बलको प्रभावकारिता बढाउन सहयोग पुर्याउँछ।
यसैगरी, केही दिन अघि सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण शम्शेरगन्जले राप्ती सोनारी गाउँपालिकामा १३२ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको थियो। शम्शेरगन्जका सशस्त्र प्रहरी नायब उपरीक्षक छवी रावतका अनुसार, यस कार्यक्रमको मुख्य उद्देश्य स्थानीय बासिन्दासँग समन्वय र सहकार्य गर्दै शिक्षा र सुरक्षामा सशस्त्र प्रहरीको भूमिकालाई बलियो बनाउनु हो।