शनिवार पानी पार्ने प्रणाली भित्रिँदै, तराईमा हुस्सु र कुहिरोको प्रभाव कम हुने
काठमाण्डौ पुष २५, – पर्सि शनिवार फेरि पानी पार्ने प्रणाली भित्रिँदैछ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गण्डकीको पहाडी क्षेत्र, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।
आज र भोलि पहाडी तथा हिमाली भेगको मौसम सफा रहने र पर्सि बेलुकीदेखि मौसम बदली हुने उहाँको भनाइ छ ।
तराईका धेरै ठाउँमा आज पनि हिजोजस्तै बाक्लो हुस्सु र कुहिरो लागेको छ । पूर्वी तराईमा दिउँसोपख हुस्सु हटे पनि मध्य र पश्चिम तराईमा भने दिनभरजसो नै हुस्सु लाग्ने गरेको छ । यसको प्रभाव भोलि र पर्सि बिहानसम्मै रहने मौसमविद्ले बताएका छन् । त्यसपछि पश्चिमी न्यूनचापीय प्रणालीका कारण हुस्सु र कुहिरोको प्रभाव विस्तारै कम हुँदै जाने मौसमविद् झाले जानकारी दिनुभयो ।
गएको सोमवार र मङ्गलवार पनि पश्चिमी वायुको प्रभावले केही ठाउँमा हल्का वर्षा र हिमपात भएको थियो । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम भएर आकाश खुलेसँगै चिसो बढेको छ । यस्तै तराईमा बाक्लो हुस्सु र कुहिरोसँगै शीतलहर शुरू भएको छ । तर मौसमविद्ले शीतलहरको घोषणा गरिसकेका छैनन् ।
मौसमविद् झाका अनुसार अधिकतम र न्यूनतम तापक्रमबीच पाँच डिग्री सेल्सियस फरक, पारदर्शिता एक किलोमिटरभन्दा कम र पानी तपतप चुहिने अवस्थालगातार तीन दिनसम्म भयो भने शीतलहर चलेको घोषणा गरिन्छ । तर अहिले शीतलहर घोषणा गर्नेगरी मापदण्ड पूरा भैनसकेको उहाँले बताउनुभयो । मौसमविद्ले घोषणा नगरे पनि तराईका धेरै ठाउँमा शीतलहरको प्रभाव शुरू भइसकेको छ ।
नारायणगढ–बुटवल सडकखण्डमा हुस्सु र कुहिरोले दृश्य नदेखिने र शीतलहरले बाटो चिप्लिने समस्या भएकाले गाडी सञ्चालनमा कठिनाइ भएको नवलपरासी प्रहरीले जनाएको छ । हिजो बिहानदेखि बन्द रहेको बुटवल–नारायणगढ सडकखण्ड दिउँसोपछि एकतर्फी खुलेको छ ।