कोहलपुर महोत्सवमा राष्ट्रिय कलाकारहरूको शानदार प्रस्तुति

कोहलपुर, पुस १४ – कोहलपुर–११ स्थित खुल्ला मैदानमा जारी कोहलपुर महोत्सव को छैठौं दिन राष्ट्रियस्तरका कलाकारहरूको उत्कृष्ट प्रस्तुति भएको छ। आइतबारको विशेष कार्यक्रममा शान्ति श्री परियार, भागीरथ चलाउने, टंक तिमिल्सिना, मिना पुन, र करिश्मा शाही जस्ता चर्चित कलाकारहरूले दर्शकलाई नचाउँदै रमाइलो दिएका थिए।

मुख्य आकर्षणका रूपमा बोलमायाकी गायिका शान्ति श्री परियारले आफ्ना लोकप्रिय गीतहरू बोलमाया, रुकुमै कोट, हियार लगायत प्रस्तुत गर्दा, महोत्सव स्थलमा धुलो उडाउँदै दर्शकहरूको जोश निकै उच्च थियो। राष्ट्रिय स्तरमा अत्यधिक मागमा रहेको परियारको प्रस्तुति हेर्नको लागि उल्लेख्य दर्शकको उपस्थिति थियो।

त्यसैगरी, लोक तथा दोहोरी गायक भागीरथ चलाउनेले थोप्डाले धोका दियो बरिल जस्ता गीतहरू प्रस्तुत गर्दै दर्शकलाई रमाइलो दिएका थिए। युवा गायक टंक तिमिल्सिनाले लोक देउडा गीतहरू गाएर माहौललाई रोमाञ्चक बनाए। मिना पुन र करिश्मा शाहीका प्रस्तुतीले पनि दर्शकहरूको मन जिते।

पुस ९ गतेदेखि सुरु भएको महोत्सवको यो छैठौं दिनमा, दर्शकहरूको उत्साह निकै प्रशंसा योग्य रह्यो। आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा भइरहेको यस महोत्सवमा लगभग २५० व्यापारिक स्टलहरू र २० होटल स्टलहरूको उपस्थिति रहेको छ। मुख्य आकर्षणमा बालउद्यान, कृषि प्रदर्शनी, थारु गाउँ, कराते र उस्सु खेल प्रदर्शन, र जातीय खाना परिकारहरू छन्।

महोत्सवको उद्देश्य आदीवासी जनजाति संग्रहालय निर्माण गर्न सहयोग जुटाउनु हो। साथै, निःशुल्क पार्किङको व्यवस्था गरिएको छ, जसले आगन्तुकहरूलाई सहजता प्रदान गरेको छ।

यस्तै आज पुस १५ गते आउने कलाकारहरू रामजी खाँड, टीका पुन, रुपा घर्तीमगर, सोमती थारु जस्ता कलाकारहरूको प्रस्तुति रहनेछ। यसैगरी, पार्वती गुरुङ र यनि पुन जस्ता मोडल र डान्सरहरूको पनि प्रस्तुति निर्धारित गरिएको छ। नायक पल शाह १६ गते महोत्सवमा आउने छन् ।

कोहलपुर महोत्सव यस वर्ष पनि सांस्कृतिक र व्यापारिक दृष्टिले भव्य र सन्देशमूलक बनिरहेको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर