अस्ट्रेलियासँगको चौथो टेस्टमा नीतीश कुमारको शतक, भारत अझै १ सय १६ रनले पछि

काठमाण्डौ, पुस १३ – अस्ट्रेलियासँगको चौथो टेस्ट क्रिकेटको पहिलो पारीको तेस्रो दिनको खेल समाप्त भएपछि भारत ३ सय ५८ रन बनाउँदै ९ विकेट गुमाएको छ। भारतीय टोली अस्ट्रेलियाका ४ सय ७४ रनबाट १ सय १६ रनले पछि छ।

भारतका नीतीश कुमार रेड्डी १ सय ५ रन बनाएर क्रिजमा रहेको छन्। टेस्ट क्रिकेटमा उनको यो पहिलो शतक हो। भारतले २ सय २१ रन बनाउँदा ७ विकेट गुमाएको थियो। आठौं विकेटको साझेदारीमा नीतीश कुमार र वाशिङ्गटन सुन्दरले १ सय २७ रनको साझेदारी गर्दै भारतको स्थिति सुदृढ गरे। वाशिङ्गटन सुन्दर ५० रन बनाएर आउट भए।

भारतका अन्य प्रमुख ब्याट्सम्यानहरू यशस्वी जयसवाल ८२, विराट कोहली ३६, ऋषभ पन्त २८ र केएल राहुल २४ रनमा आउट भए। अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र स्कट बोल्यान्डले ३/३ विकेट लिए।

यसअघि, मेलबर्नमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले ४ सय ७४ रन बनाएको थियो। अस्ट्रेलियाका स्टेभेन स्मिथले शतक बनाएका थिए भने साम कोन्स्टास, उस्मान ख्वाजा र मार्नुस लाबुशेनले अर्धशतक बनाएका थिए। भारतका जसप्रीत बुमराहले ४ विकेट लिए।

यस खेलमा भारत र अस्ट्रेलिया बीचको प्रतिस्पर्धा तेस्रो दिनमा निकै उत्साहजनक रह्यो। पाँच खेलको बोर्डर–गाभस्कर ट्रफी श्रृंखलामा अब दुई टिम बीच १–१ को बराबरी छ, र चौथो टेस्टमा खेलको परिणाम अझै टेढो छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर