कोहलपुर महोत्सवमा आज चर्चित कलाकारहरूको धमाकेदार प्रस्तुति
कोहलपुर,पुस १३ – कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव (एस्पो–२०८१)’ को पाचौं दिन आज एक दर्जनभन्दा बढी चर्चित कलाकारहरूको प्रस्तुति हुने भएको छ। महोत्सवमा आज गायिका मिलन नेवार, लोक तथा दोहोरी गायक कृष्ण रेउले, मोडेल आरुषी मगर, रितु शाही, गायिका विपना सिंह, मोडेल माया परियार, सानू चौधरी र डान्सर निरुता कार्की लगायतका कलाकारहरूले आफ्नो कला प्रस्तुत गर्नेछन्।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा भएको यो महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरूको बेहतरीन प्रस्तुति भइरहेको छ। पाचौं दिन पनि महोत्सवले दर्शकलाई झुमाउने छन्।
पछिल्लो दिनमा, शुक्रबारको कार्यक्रमले दर्शकलाई आकर्षित गर्यो, जहाँ चर्चित लोक तथा दोहोरी गायिका पुर्णकला बिसी, गायक राजु गुरुङ, डिजराज पौडेल, विष्णु सिंजाली, गायिका सोनु कुश्मी लगायतका कलाकारहरूले शानदार प्रस्तुति दिएका थिए।
आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले आयोजित यस महोत्सवमा करिब २५० वटा व्यापारिक स्टल र २० वटा होटल स्टल रहेका छन्। स्टलहरूमा प्रदेशभरका व्यवसायीहरूले मनग्य लाभ लिनेछन्। आयोजक हेमन्त पुनका अनुसार महोत्सवका प्रमुख आकर्षणहरूमा बालउद्यान, कृषि प्रदर्शनी, व्यापारी स्टलहरू, हात्ती सफारी, उँट प्रदर्शनी, कराते र उस्सु खेल प्रदर्शन रहेका छन्। साथै, विभिन्न जातीय खानाका परिकारहरूको प्रदर्शनी पनि गरिएको छ, जसमा मगर, गुरुङ, थारु, नेवार लगायतका पारंपरिक खानाका स्वाद लिन सकिन्छ।
यस महोत्सवले स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रदर्शन मात्र होइन, आदिवासी संस्कृति र परम्परालाई प्रवर्धन गर्ने उद्देश्य पनि पुरा गरिरहेको छ।