कोहलपुर महोत्सवमा देउडा र दोहोरीमा दर्शक झुमे

कोहलपुर, पुस १२ – कोहलपुर महोत्सवको चौथो दिनको सांस्कृतिक कार्यक्रमले दर्शकहरुलाई अविस्मरणीय अनुभव प्रदान गरेको छ । कोहलपुर–११ स्थित खुल्ला मैदानमा जारी महोत्सवमा राष्ट्रियस्तर र स्थानीय कलाकारहरुले उत्कृष्ट प्रस्तुति दिएका थिए ।

पुस ९ गतेदेखि सुरु भएको महोत्सवमा दैनिक दर्शकहरूको उपस्थिति बढ्दो क्रममा रहेको छ। शुक्रबारको कार्यक्रमले दर्शकहरुलाई विविध सांगीतिक विधामा रमाइलो गरायो। लोक तथा दोहोरी गायिका पुर्णकला बिसीको देउडा गीतले महोत्सवको माहोललाई उचाइमा पुर्‍यायो। उनले ‘गालापारा पिरती’, ‘मायालुले भिरेको झोला’, ‘फूलमायामा नभुल’ जस्ता चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई झुमाए। यसअघि कोहलपुर महोत्सवमा पुर्णकलाले पहिलोपटक देउडा गीत प्रस्तुत गरेकी थिइन्, जसलाई देउडा पारखीहरुले निकै रुचाएका थिए ।

लोक दोहोरी गायक राजु गुरुङले पनि उपस्थित दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरे । उनले ‘मुखै तितो बनायो तिते करेली’, ‘सालैजो’ लगायतका गीत प्रस्तुत गर्दै महोत्सवको माहोल तातो बनाएका थिए। उनका झ्याउरे भाका र आकर्षक प्रस्तुतीले दर्शकलाई थप रमाइलो दिलायो ।

यसै क्रममा आधुनिक गायक डिजराज पौडेलले पनि आफ्ना चर्चित आधुनिक गीतहरू प्रस्तुत गरे, जसमा ‘तिमी आउने बाटोमा फुल रोपेदिए मैले’ र ‘फुलबुट्टे सारीमा’ जस्ता गीतहरूले दर्शकलाई मोहित बनायो । गायक विष्णु सिंजाली मगरले ‘ख्याल ख्यालमा पिरती लाउने बनायो’, ‘कोकाकोला जस्तै छ’ जस्ता गीत प्रस्तुत गर्दै माहोलमा थप रंग भरे। सोनु कुश्मीले भने ‘काली भनौला’, ‘बारबार लेहेङ्गा फुस्केला’, ‘थारु गीत अटुवामा बैठी के’ प्रस्तुत गरेका थिए ।

कोहलपुर महोत्सव नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सम्पन्न भइरहेको छ । महोत्सवमा करीब २५० वटा व्यापारिक स्टल र २० वटा होटल स्टल रहेका छन् । विभिन्न क्षेत्रका व्यवसायीले लाभ लिने यो महोत्सव, आदिवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको हो। महोत्सवका अन्य आकर्षणमध्ये बालउद्यान, कृषि प्रदर्शनी, व्यापारी स्टलहरू, थारु गाउँ, कराते र उस्यु खेल प्रदर्शन प्रमुख छन्। यसका साथै, विभिन्न जातीय खानाका परिकारको प्रदर्शनी पनि गरिएको छ ।

आयोजकहरुले आगामी दिनमा चर्चित गायिका मिलन नेवार, लोक तथा दोहोरी गायक कृष्ण रेउले, मोडेल आरुषी मगर, रितु शाही, गायिका विपना सिंह लगायतका कलाकारको प्रस्तुति रहने जानकारी दिएका छन् । यसरी कोहलपुर महोत्सव सांगीतिक, सांस्कृतिक र व्यावासिक दृष्टिले निकै सफल र आकर्षक साबित भइरहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर