बर्दिया अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिनको अभाव
कोहलपुर पुस ११- बर्दिया जिल्लाको सदरमुकाम गुलरियास्थित बर्दिया अस्पताल र अन्य स्वास्थ्य संस्थामा रेबिज विरुद्धको भ्याक्सिनको अभाव भएको छ। लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट खोप नपठाउँदा बिरामीहरूले सास्ती भोग्नु परेको स्वास्थ्य संस्थाहरूले जनाएका छन्।
बर्दिया अस्पताल, बारबर्दिया नगर अस्पताल, बासगढी नगर अस्पताल र राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिज विरुद्धको भ्याक्सिनको अभाव रहेको जानकारी प्राप्त भएको छ। बर्दिया अस्पतालका प्रमुख डा. सुभाष पाण्डेले बताए अनुसार, कुकुरले टोकेका बिरामीहरूको संख्या बढिरहेको भए पनि अस्पतालमा माग गरिएको भ्याक्सिन प्राप्त नभएकोले समस्या उत्पन्न भएको छ। उनले भने, “अस्पतालमा डेढ महिना अगाडि भ्याक्सिन सकिएको थियो, र त्यसयता कुनै नयाँ खोप प्राप्त भएको छैन।”
डा. पाण्डेले थप जानकारी दिए कि बजारमा पाइने भ्याक्सिनको पाँच डोज लगाउनु पर्ने भए पनि सरकारले उपलब्ध गराएको भ्याक्सिनमा केवल तीन डोज मात्र हुन्छ। यस कारणले गर्दा रेबिजका बिरामीहरूलाई समस्यामा परिरहेका छन्।
बारबर्दिया नगर अस्पतालका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलका अनुसार, बारबर्दिया नगर अस्पतालमा पनि एक महिनादेखि भ्याक्सिनको अभाव छ। उनले जानकारी दिए कि लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमा नै भ्याक्सिनको अभाव रहेकोले अस्पतालमा पठाउन नसकिने अवस्था उत्पन्न भएको हो।
यस्तै, बाँसगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महेश थारूले रेबिजको भ्याक्सिनको अभावको कारण कुकुरले टोकेका बिरामीहरूलाई उपचारका लागि फर्कन बाध्य भएको बताएका छन्। उनले प्रदेश सरकारसँग भ्याक्सिन माग गरेका छन्, तर हालसम्म कुनै हल निकालिएको छैन।
राजापुर प्राथमिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी सुरेश चौलागाईले कात्तिक महिनामा भ्याक्सिन सकिएको र त्यसयता थप भ्याक्सिन नआएको जानकारी दिए। यसै प्रकारले ठाकुरबाबा नगपालिकामा पनि भ्याक्सिनको अभाव देखिएको छ, तर स्थानीय सरकारले २०० भाइल भ्याक्सिन खरिद गरेर समस्या समाधान गरेको छ।
स्वास्थ्य संस्थाहरूले रेबिज विरुद्धको खोपको अभावलाई तत्काल समाधान गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन्।