रवि लामिछानेविरुद्ध कास्कीमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता”
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दर्ता भएको छ। कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिइएअनुसार, लामिछानेसहित ३१ जनाविरुद्ध तीन छुट्टाछुट्टै आरोपपत्र दर्ता भएका छन्। यी आरोपपत्रको कुल पृष्ठ संख्या ४२७ पृष्ठ रहेको छ।
यो मुद्दा सहकारी ठगी र अन्य अपराधसम्बन्धी अनुसन्धानको आधारमा दर्ता गरिएको हो। कास्की प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दर्ता गर्नका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।
संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालीसँग सम्बन्धित सहकारी रकममा रवि लामिछाने र अन्यलाई जिम्मेवार ठहर गर्दै कारबाहीको सिफारिश गरेको थियो, र त्यसको आधारमा उनलाई कात्तिक २ गते काठमाण्डौबाट पक्राउ गरिएको थियो।